पर्यटकको पहिलो रोजाईको गन्तब्य बन्दै ‘भालुढुङ्गा’



गणेश घिमिरे, इलाम ।

प्रचार प्रसार र संरक्षण अभावमा ओझेलमा पर्दै गएको इलामनगरपालिका भित्रकै भालुढुङ्गा यतिखेर इलाम आएका पर्यटकका लागि पहिलो रोजाईको गन्तब्य बन्दै गएको छ । पर्यटनको प्रचुर संभावना भएर पनि त्यहाँको प्रचार प्रसार र संरक्षण हुन सकेको थिएन । तर पछिल्लो समय स्थानीय युवाहरुको सक्रियतामा भालुढुङ्गालाई इलाम नगरकै प्रमुख पर्यटकीय गन्तब्य बनाउन सफल भएका छन् ।

स्थानीय युवाहरुले भालुढुङ्गा सामुदायिक पर्यटन प्रवद्र्धन विकास समिति गठन गरेर भालुढुंगाको संरक्षणमा जुटेपछि अहिले त्यहाँ पर्यटककोे आगमन समेत बढेको समिति अध्यक्ष हरी गुरुङ्गले बताए । ‘करिब १४ हेक्टर क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा प्राकृतिक सौन्दर्यतामा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ’ गुरुङ्ग भन्छन् यहाँ अहिले ‘इलाम सहित देशका बिभिन्न जिल्ला र तेस्रो मुलुक इटाली, जर्मनी, अष्ट्रेलिया र स्वीट्जरल्याण्ड बाट पनि पर्यटकहरु बढी मात्रामा आउन थालेका छन् ।’ यो क्षेत्रलाई युवाहरुले बनभोज एवं सुटिङ स्पर्टका रुपमा बिकास गरेका छन् ।

इलाम सदरमुकामबाट करीब पाँच किलोमिटरको दुरीमा पुग्न सकिने भालुढुङ्गामा दिनप्रतिदिन पर्यटक आवागमन बढ्दै जान थालेपछि समितिले पर्यटकहरुको उचित सुबिधाका स्थानीय दशवटा घरमा होमस्टेको ब्यबस्थापन पनि सुरुवात गरेका छन् । होमस्टेमा स्थानीय स्तरमा उत्पादन भएको कोदो–फापरको रोटी, ढिडो, सिस्नु, मकैको भात, गुन्द्रुकको अचार एवं नेवारी र लिम्बु जातका खानाका परिकारहरु पाउने समितिले जनाएको छ ।

समितिले उक्त स्थानमा फ्रि वाइफाईको समेत ब्यबस्था मिलाएपछि त्यहाँ पुग्ने पर्यटकले नेट–इन्टरनेटको सुबिधा पनि उपभोग गर्न पाएका छन् । यसले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा थप मद्धत पुगेको अध्यक्ष गुरुङ्गको भनाई छ । भालुुढुङ्गा क्षेत्रलाई पर्यटकि क्षेत्रको रुपमा बिकास गर्न प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसिया, इलाम नगरपालिका सहित इलामका समाजसेवी ब्यक्तिहरुले आर्थिक सहयोग गर्दै आएका छन् । सो स्थानमा अब चाँडै नै चिडियाखाना गोलघर निर्माण गर्ने समितिले जनाएको छ ।

स्थानीय बुढापाकाका अनुसार भालुढुङ्गामा तीनवटा ठूला ढुङ्गा छन् । भालुढुङ्गामा वनझाँक्री बस्ने गरेको र महादेवको पाइला भएकाले यसको बेग्लै धार्मिक महत्व समेत रहेको स्थानीय बृद्ध रणबीर तामाङले बताउनुभयो ।

भालुढुङगा क्षेत्रमा चमेरे र ओडारे गुफा रहेको छ । उक्त गुफाभित्र छिरे आफूले चिताएको मनोकाङक्षा पूरा हुने बिश्वास रहेको छ । जसले गर्दा पनि त्यहाँ पुग्ने पर्यटकहरु गुफा नछिरी फर्कदैनन् । जिल्लाकै नयाँ पर्यटकीय गन्तब्यको रुपमा बिकास भइरहेको भालुढुङ्गालाई सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग गर्न जरुरी रहेको स्थानीयहरु बताउँछन् ।

भालुढुङ्गाबाट जिल्लाकै अन्य प्रमुख पर्यटकीय गन्तब्यहरु सन्दकपुर, छिन्टापु, बौधगुम्बा सहित तराईका फाँटहरु देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्