असार १५ पछि पोखरा– बागलुङ्ग राजमार्ग दैनिक आठ घण्टा बन्द हुने



दुर्गाप्रसाद शर्मा
पर्वत । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक आठ घण्टा पर्वत खण्ड बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा सोमबार बार बसेको सर्वपक्षिय बैठकले अप्ठेरो भिरमा कटान गर्नका लागि असार १५ देखि दैनिक ८ घण्टा सडक बन्द गर्ने निर्णय भएको हो ।
लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवा देखि बेतनी बिचको माहुरी भिर र दोबिल्ला देखि चुवा सम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय भएको छ । पर्वतको सडक खण्डमा बिहान १० बजे देखि दिउँसो १२ बजे सम्म सडक बन्द हुनेछ भने दिउँसो १ बजे देखि ४ बजे सम्म पनि सडक बन्द हुने भएको छ । साँझ ५ बजे देखि राती ८ बजे सम्म पनि सडक बन्द हुने भएको छ ।
बर्षा याममा यात्रुको चाप पनि कम हुने र सवारी साधन पातलो चल्ने कारणले आठ घण्टा सडक बन्द गरेर काम गर्ने निर्णय भएको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए । आयोजना संग ३६ महिनामा निर्माण काम सक्ने गरि सम्झौता भएपनि २६ महिनामा काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य गर्न लागिएको सर्वदलीय बैठकमा उनले दाबी गरे । ‘हामीले सम्झौता भन्दा १० महिना अगाबै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम तीब्र बनाउने योजना बनाएका छौ’ उनले भने ‘कठिन भीरहरुमा कटानका लागि केही समय सडक बन्द नै गरेर निर्माण गर्नुपर्ने आवश्यकता छ’ । आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । अहिले सम्म १२ प्रतिशत काम सकिएको ब्यबस्थापक भुसालले जानकारी दिए ।
सर्वदलीय बैठकमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर बिश्वकर्मा पौडेलले सर्वसाधरण यात्रु र यातयात ब्यबसायीलाई पनि मर्का नपर्ने र राष्ट्रिय गौरबको आयोजनाको निर्माण कार्यलाई पनि सघाउ पु¥याउने गरि बन्दलाई ब्यबस्थापन गर्न जरुरी भएको बताए । उनले युद्धस्तरमा काम गर्ने र छिटो अवधीमा नै यातयात बन्द गर्ने कुरालाई अन्त्य गर्न तर्फ सबैले सहयोग गर्न आवश्यक भएको कुरामा जोड दिए ।
पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोखरा बागलुङ्ग राजमार्गको अन्य क्षेत्रमा समेत सडक बन्द गर्ने कार्य एकै पटक गर्न समन्वयकारी काम गर्ने प्रतिबद्धता जनाए । उनले सडक बन्द हुने स्थानमा बैकल्पिक सडक निर्माण गर्न सम्झब भए सम्म त्यस तर्फ पनि समन्वय गरिने बताए । चुवामा दोबिल्लाबाट माथि डिल सम्म बैकल्पिक सडक निर्माण गरि यातयात बन्द हुँदा पनि सवारी आवगमन सुचारु गर्ने बैकल्पिक सडक खुलाउन तर्फ पनि संभब भए सम्म पहल गर्ने जानकारी दिए ।
सर्वपक्षिय बैठकमा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा र यातयात ब्यबसायीहरुले यातयात बन्द हुँदा सर्वसाधरण यात्रु र ब्यबसायी मर्कामा पर्ने भएकाले कम मर्का पर्ने गरि निर्माण कार्य अगाडी बढाउन र बन्दलाई समेत त्यसैगरी गरि ब्यबस्थापन गर्न आग्रह गरेका थिए ।
मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । २०५० सालमा निर्माण सम्पन्न भएको सडकका् धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।

प्रतिक्रिया दिनुहोस्