उरुग्वेसँग रुसको केही लागेन



मस्को, (एजेन्सी)
जारी विश्वकपमा प्रभावशाली शुरुवात लिएको रुसलाई उरुग्वेले सहजै पराजित गरेको छ ।
सोमबार भएको समूह ए को खेलमा उरुग्वेले रुसलाई ३–० गोलअन्तरले हराएको हो । यो जितसँगै उरुग्वे तीन जितका साथ ९ अंकसहित समूह विजेता बन्यो । रुस भने दुई जित र एक हारसँगै ६ अंकसहित दोस्रो स्थानमा रह्यो । दुबै टोली अन्तिम १६ मा पहिल्यै पुगिसकेका छन् ।

रुस र घरेलु दर्शकको लागि यो खेल अघिल्ला दुई खेलभन्दा एकदमै विपरित बन्यो । सामरा एरेनामा रुसले रातो कार्ड आत्मसात गर्नुका साथै नराम्रो हार समेत खेप्नु परेको थियो । साउदी अरेबियालाई ५ गोल र इजिप्टलाई ३ गोल गरेको रुस १० मिनेटमै पछाडि रह्यो । लुइस सुआरेजले चलाकी ढंगले फ्रिकिक प्रहार गर्दा सीधै गोल भएको थियो । सुआरेजको यो जारी प्रतियोगितामा दोस्रो गोल हो ।


उरुग्वे ३ रुस ०
सुआरेज १०’, चेरिसेभ २३’, काभानी ९०’


दोस्रो गोल आत्मघाती थियो । डिएगो लाक्साल्टले करिब २५ यार्डबाट प्रहार गरेको बल डिफ्लेक्ट हुँदै रुसको पोस्टमा छिरेको थियो । प्रतियोगितामा तीन गोल गरेका डेनीस चेरीसेभको यो आत्मघाती गोलले उरुग्वेलाई २३ मिनेटमै २–० को अग्रतामा पु¥यायो । यसपछि इगो समोल्नीकोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिर पुगेपछि रुस १० खेलाडीमा सीमित भयो । यसपछि रुसको खेल झनै छताछुल्ल भएको थियो ।

तर खेल सकिन लाग्दा फेरि एक गोल थपियो । एडिसन काभानीले अगाडि धेरै गोल गर्ने मिस गरेका थिए । उनले अन्तिम मिनेटमा क्लोज रेन्जमा गोल गरेर उरुग्वेको सानदार जित गराए । यो उनको जारी प्रतियोगितामा पहिलो गोल पनि थियो ।

प्रतिक्रिया दिनुहोस्