साउदी अरेबियाले इज्जत जोगायो



सालेम अल दावसारीले इन्जुरी समयमा गोल गरेपछि साउदी अरेबियाले जारी विश्वकपमा आफनो इज्जत जोगाएको छ ।

सालेमले थपिएको पाँच मिनेटको चौथो मिनेटमा गोल गरेपछि साउदी अरेबियाले इजिप्टलाई सोमबार भोल्गोग्राडमा २–१ ले हराएको हो । यो जितसँगै साउदी अरेबियाले विश्वकप २०१८ को यात्रा एक जितबाट समाप्त गरेको छ । यसअघि उरुग्वेसँग पनि टोली १–० ले हारेको थियो ।
सोमबार भएको खेलमा पनि पहिलो गोल साउदी अरेबियाले नै बेहोरेको थियो । इजिप्टका स्टार खेलाडी मोहमद सालाहले २२ औं मिनेटमा गोल गरेका थिए । यो गोल सालाहको प्रतियोगितामा दोस्रो गोल थियो । तर यसपछि साउदी अरेबियाले इजिप्टमाथि दवाव दिएको थियो ।


साउदी अरेबिया २ इजिप्ट १
सलमान ४५’, सालेम ९०प्लस ४’ सालाह २२’


सलमान अल फराजले पहिलो हाफको इन्जुरी समयमा भारमार्फत् पाएको पेनाल्टीमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । यो साउदी अरेबियाको जारी विश्वकपमा पहिलो गोल पनि थियो । साथै उक्त पेनाल्टीमा गोल खान अगाडि इजिप्टका गोलकिपर एसाम अल हडारीले ४१ औं मिनेटमा भएको पेनाल्टी प्रहार रोकेका थिए । यो खेल खेलेसँगैं ४५ वर्षीय अल हडारी विश्वकपका सबैभन्दा पाको खेलाडी बनेका छन् । तर उनको टोली अंकविहीन हुँदै घर फर्कदैछ ।

प्रतिक्रिया दिनुहोस्