विश्वका महँगा १० घर



राम्रो घर बनाउने सबैको सपना हुन्छ। विश्वका अधिकांश मानिस एउटा राम्रो घर अनि आनन्द जीवनको परिकल्पना गर्छन्। कतिपय मानिसलाई घर आफूलाई सुरक्षित महसुस गराउने माध्यम हो भने कतिपयलाई आफ्नो वैभवता प्रस्तुत गर्ने माध्यम हो। यसका साथसाथै घर भनेको आफूलाई मन परेको म्युजियम पनि हो। कामको सिलसिलामा दिनभरिको दौडधूपपछिको थकान लिएर घर फर्किंदा घरको वातावरणले मेडिटेसनको काम गर्न सक्यो भने जीवन स्वतः स्वस्थ र रमाइलो हुने कुरा पक्का छ। धेरै मानिसलाई लागेको होला विश्वमा कस्ता घर छन् होला, त्यस्ता घरहरु कसरी बनाइएको होलान् भनेर। विश्वका महँगा घरप्रति धेरैको चासो हुने गरेको छ। विश्व चर्चामा आएका १० महँगा घर यस प्रकारका छन् ः

फिलिमोर गार्डेन्स, लन्डन
मूल्य ः १ सय २८ मिलियन डलर

फिलिमोर गार्डेन लन्डनमा अवस्थित छ। पाँचतले यस घरको मालिक युक्रेनी विजनेस ओमेन एलिका फ्रान्चकको हुन्। यसमा एक जिम, सोना तथा सिनेमा थिएटरसमेत रहेको छ। पर्याप्त नेचुरल लाइट प्राप्त हुने यस घरका हरेक कोठा फराकिलो तथा अग्ला छन्। यस घरको एक तलामा उच्च सुविधासहितका बेडरुम बनाइएका छन्। उक्त तलामा दुई बाथरुम तथा एक ड्रेसिङ रुम पनि छन्। यसका साथै यस घरको भित्तामा विभिन्न हस्तकला राखिएको छ।

एन्टिलिया, साउथ मुम्बई, भारत
मूल्य ः १ बिलियन डलर

एन्टिलिया भारतको निकै नै चर्चित घरहरुमध्यको एक हो। ४० हजार वर्गफिटमा फैलिएको २७ तले एन्टिलियाका मालिक भारतीय अर्बपति मुकेस अम्बानी हुन्। सन् २००६ मा अम्बानीको परिवारले यो घर बनाउँदा १ अर्ब डलर खर्च भएको बताइएको छ। मुम्बईकै अग्लो घर एन्टिलियाको उचाइ १ सय ७३ मिटर छ भने यसमा २७ तला छन्। यो घरको स्याहारसम्भारका लागि ६ सय कर्मचारी राखिएको छ। मुम्बईको अल्टामाउन्ट रोडमा रहेको एन्टिलिया संसारको सबैभन्दा महँगो घरमध्ये एक हो। यस घरमा १ सय ६८ गाडी अटाउने ग्यारेज छ, एक बलरुम, ३ हेलिप्याड, बगैंचालगायतका विलाशी वस्तुहरू रहेका छन्। यसका साथ साथै एउटा मन्दिर, ५० जना अटाउने एक होम थिएटर, जिमसहितको अम्बानी निवासको छतमा स्विमिङ पुल रहेको छ।

बेल एर स्पेक म्यानोर, लस एन्जलस
मूल्य ः २ सय ५० मिलियन डलर

४५ हजार वर्ग फुटको आधारमा निर्मित बेल एअर स्पेक म्यानोरका मालिक ब्रुस माकोस्की हुन्। म्यानोरमा १२ बेडरुम, २१ बाथरुम, ३ किचेन, मसाज, स्पा तथा फिटनेस सेन्टर, वाइन कक्ष, होम थिएटर तथा ८५ फिट इन्फिनिटी स्विमिङ पुल रहेका छन्।

एलिसन स्टेट, क्यालिफोर्निया
मूल्य ः २ सय ६० मिलियन डलर

द ओराकलका संस्थापक ल्यारी एलिसनको २३ हेक्टरमा फैलिएको एलिसन स्टेटको मूल्य २ सय ६० मिलियनभन्दा माथि रहेको छ। रियल स्टेटका व्यवसायी तथा संकलक ल्यारीद्वारा निर्मित यस घर जापानी स्टाइलमा बनाइएको छ। यसमा १० भवन, एक मानव निर्मित ताल, बाथ हाउस र सानो तलाउसमेत रहेको छ।

भिल्ला लियोपिल्डा, भिल्लाफ्रान्से सुर मोर, फ्रान्स
मूल्य ः ७ सय ५० मिलियन डलर

यो घर बेल्जियमका राजा लियोपोल्डाको हो। यो घर विश्वकै सबैभन्दा ठूलो फ्रेन्च बङ्गलाको रूपमा परिचित छ। करिब २० हेक्कड जमिनमा फैलिएको यस घरबाट मेडिटेरियन समुन्द्रको सुन्दर दृश्य देख्न सकिन्छ। यो घरमा १९ वटा बेडरुम, मुभी थ्रियटर, बगैंचा, स्विमिङ पुल आदि रहेका छन्।

बकिङ्घम प्यालेस, लन्डन
मूल्यः १.५५ बिलियन डलर

सन् २०१८ को विश्वकै सबैभन्दा महँगा घरको सूचीमा बकिङ्घम प्यालेस पनि पर्न सफल भएको छ। बेलायतको राजदरबाररूपमा परिचित यो प्यालेस साँचिकै सुन्दर छ। सन् १७०३ मा निर्माण भएको यस भवन त्यहाँको पुरानो भवन भनेर पनि चिनिन्छ। यस प्यालेसमा ७ सय ७५ वटा रुम छ। यहाँ ५२ वटा बेडरुम, ८७ वटा बाथरुम छ भने २ सय ८८ वटा रुम अफिस र स्टाफका लागि प्रयोग गरिएको छ। वरिपरि खुला बगैंचा छ र राम्रा–राम्रा फूल फुलेको देख्दा आफ्ना सारा जीवन त्यहीं नै बिताइदिउँ कि जस्तो पनि लाग्ने गर्छ। त्यसैले यसलाई लन्डनमा निकै नै प्रख्यात मानिएको छ।

हाला रान्च एस्पेन, कोलोराडो
मूल्य ः ८ सय २१ मिलियन डलर


५६ हजार वर्गफिटमा फैलिएको यस घरको मूल्य ८ सय २१ मिलियन डलर रहेको छ। घरका मालिक जोन पलसन हुन्। सन् २००६ मा साउदी अरेबियन राजकुमार बान्दार बिन सुल्तानले बेचेको यस घरमा १५ बेडरुम, १६ बाथरुम, ग्यास पम्प तथा उच्च प्रविधिको प्रयोग गरिएको छ।

दी पेन्ट हाउस, लन्डन
मूल्य ः १ सय २५ मिलियन डलर

प्रतिस्पर्धामा रहेका अन्य महँगा घरभन्दा लन्डनमा रहेको पेन्ट हाउस निकै सानो छ। यद्यपी यहाँ प्रयोग गरिएको आन्तरिक निर्माण र सजावटका कारण पेन्ट हाउस यो वर्षको चौथो महँगो घरका रूपमा प्रसिद्ध हुन पुगेको छ। लन्डनको अत्यन्त प्रसिद्ध हाइड पार्कमा रहेको घरको सबभन्दा माथिल्लो फ्लाटमा अवस्थितिका कारणले पनि बस्न अत्यन्त विशेष घरका रूपमा वर्णन गरिन्छ। बुलेटप्रुफ सिसाको प्रयोग गरिएको यस घरमा २४सै घन्टा बेलायती सेनाको स्पेसल एअर सर्भिस (एसएएस) बाट तालिमप्राप्त व्यक्तिले सुरक्षा दिएका हुन्छन्। पेन्ट हाउसमा विश्वकै प्रसिद्ध मान्डारिन ओरियन्टल होटलबाट खानाको व्यवस्था गरिएको छ। यसमा आफ्नै बार तथा सानो गल्फ कोर्ससमेत छ।

म्यान्सन डीएल एमिटी, फ्लोरिडा
मूल्य ः ९ सय १३ मिलियन

पामको रुखका बीचमा रहेको म्यान्सन डीएल एमिटी फ्रेन्डसिप हाउसको रूपमा पनि परिचित छ। यस घरको पुरानो भर्सन एक रसियाली अर्बपतिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सन् २००८ मा किनेका थिए। समुन्द्री किनारमा रहेको यस म्यान्सनमा ८० गाडी अटाउने ग्यारेज, ३१ मिटर लामो स्विमिङ पुल, बुलेटप्रुफ झ्याल, २२ बेडरुम, ३ पाहुना कक्ष आदि रहेका छन्। यसको वरिपरि बगैंचा पनि छ।

प्रतिक्रिया दिनुहोस्