दिगो निर्माणका लागि भरपर्दो डन्डी



केही दिनअघि नेपाल नाप, तौल तथा गुणस्तर विभागले काठमाडौं स्टिल प्रालि नवलपरासीद्वारा उत्पादित फलामे डन्डी गुणस्तहीन भएको भन्दै कम्पनीलाई कारबाही मात्र गरेन कम्पनीको उत्पादन लाइसेन्स नै खारेज गरिदियो। संरचना बलियो, दिगो र भूकम्प प्रतिरोधी बनाउने विषयमा सरकारी तथा निजी क्षेत्रबाट पहल हुँदै गर्दा उक्त कारबाही भएको हो।

उत्पादन कम्पनीले नेपाल गुणस्तरका छड उत्पादन गरेन भने त्यस्ता कम्पनीहरूलाई सरकारले उत्पादन रोक्ने, लाइसेन्स खारेज गर्ने जस्ता कारबाही गर्न सक्ने व्यवस्था छ।

उल्लेखित घटनाले मुलुकको पूर्वाधार विकास तथा संरचना निर्माणका लागि चाहिने गुणस्तरीय सामग्रीको छनोट र प्राविधिकरूपमा त्यसको सही प्रयोग गर्ने विषयमा गम्भीर हुनुपर्छ भन्ने विषयमा सचेत गराएको छ। हरेक संरचना बनाउँदा निर्माणकर्ता र प्राविधिकबीच छलफल तथा चासोेको विषय बन्ने गरेको छ।

अहिले हरेक आवासीय तथा व्यावसायिक भवन, जलविद्युत् आयोजना, पुल, सुरुङमार्ग निर्माण, सिँचाइ आयोजना, नहरलगायतका भौतिक संरचना निर्माणमा फलामे छडको प्रयोग अनिवार्य छ। प्रयोगकर्ताले पनि मूल्य, गुणस्तर र आफू कुन प्रयोजनका लागि छड किन्न लागेको हो भन्ने कुरालाई मनन गरेर मात्र त्यसको खरिद गर्नुपर्नेछ।

बजारमा सस्तो पाइयो भन्दैमा नेपाल गुणस्तर चिह्न नपाएका तथा सरकार परीक्षण नगरिएका सामग्री खरिद गर्न हुँदैन भन्ने विषयमा सचेत गराएको छ। नेपालमा उत्पादन भएका निर्माण सामग्री छन् त्यसका निम्ति उपभोक्ताले ब्रान्डप्रति सचेत हुनुपर्ने सुझाव व्यवसायीको छ।

नेपालमा पूर्वाधार विकास र पुनर्निर्माणले गति लिँदै गर्दा निर्माण सामग्रीप्रति धेरैको चासो छ। सरकारले आफ्नो नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट मार्फत पूर्वाधार निर्माणको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको सन्दर्भमा अब बजारमा यसको माग पनि उच्च छ भन्ने कुराको संकेत गर्छ। भूकम्पले प्रभावित भएका संरचनाहरूको पुनर्निर्माणको काम अझै सकिएको छैन।

हाल संरचना पुनर्निर्माण तथा नयाँ पूर्वाधार विकास कार्यक्रमअन्तर्गत साना तथा ठूला परियोजनाका काम तीव्र गतिमा बढिरहेका छन्। भूकम्पले पूर्ण र आंशिकरूपमा क्षति पुर्याएका संरचना पुनर्निर्माण गर्दा कसरी बलियो र दिगो बनाउन सकिन्छ भनेर प्राविधिकको सहयोग लिनु जरुरी छ। यसका अतिरिक्त प्रयोग हुने सामग्रीको गुणस्तरमा पनि ध्यान दिनु जरुरी हुन्छ।
स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि निर्माणको कामले बढी प्राथमिकता पाएको छ। व्यवस्थित संरचना निर्माणका निम्ति यो महत्वपूर्ण पक्ष पनि हो।

त्यसबाहेक विगतदेखिकै योजना जलविद्युत् आयोजनामा, पुल, नहर, व्यावसायिक तथा आवासीय भवन निर्माणमा छडको खपत उच्च छ। नेपाल गुणस्तर तथा नापतौल विभागले फलामे छड उत्पादन कम्पनीका लागि नेपाल गुणस्तर (नेपाल गुणस्तरः१९१) अनिवार्य गरेको छ। यस आधारमा पनि नेपालमै उत्पादित डण्डी साना–ठूला दुवैखाले संरचना निर्माणका लागि गुणस्तरयुक्त हुनै पर्छ।

नेपाल गुणस्तरले राखेअनुसार ‘५०० डी’ भनेको एउटा ब्रान्डका रूपमा स्थापित भएको छ। तर, अन्य छड पनि सोही गुणस्तर रहेको छड निर्माण कम्पनीले दाबी गर्दै आएका छन्।
नेपाली बजारमा अहिले फाइभ हन्ड्रेड डी, ग्रेड फाइभ हन्ड्रेट र टीएमटी ४१४ ग्रेडका डन्डी गरी तीन प्रकारका छड तथा डन्डीहरू उपलब्ध छन्। फाइभ हन्ड्रेड डीलाई अन्य डन्डीको तुलनामा बढी लचकदार मानिन्छ। ‘फाइभ हन्ड्रेड डी’ डन्डीमा शून्य दशमलव ७५ प्रतिशत मात्र फोस्फोरस र सल्फरको प्रयोग भएको हुन्छ जस कारणले अन्य डन्डीभन्दा यो बढी लचक हुनाले भूकम्पलगायतका विपद्मा जोखिम कम हुने प्राविधिकहरूको दाबी छ।

फाइभ हन्ड्रेड डी डन्डीको गुणस्तर बढी हुने भएकाले पनि यो अरू डन्डीभन्दा महंँगो छ। छडको गुणस्तर तथा भूकम्प प्रतिरोधीपनलाई त्यसको लचकतासँग दाँजेर हेर्ने गरिन्छ। छडमा बढी लचकता भएमा त्यसलाई बढी गुणस्तरीय भूकम्प प्रतिरोधी ठानिन्छ। लचकता भनेको स्टिल हल्लिँदा पुनः पुरानो स्थानमा फर्किनु हो। राम्रो डन्डीमा स्ट्रेच अर्थात् लचकता बढी हुने भएका कारण संरचना फेरि पुरानो अवस्थामा फर्किन्छ। त्यसले गर्दा स्टिल बढी भूकम्प प्रतिरोधी हुन्छ। नेपाल भूकम्पीय जोखिम उच्च रहेको क्षेत्र हो भन्ने जानकारी हुँदाहँुदै पनि छड तथा डन्डी भूकम्प प्रतिरोधी छन् वा छैनन् भनेर अनुगमन गर्ने विषयमा भने सरकार उदासिन जस्तै देखिन्छ।

बजारमा सस्तो पाइयो भन्दैमा नेपाल गुणस्तर चिह्न नपाएका तथा सरकार परीक्षण नगरिएका सामग्री खरिद गर्न हुँदैन भन्ने विषयमा सचेत गराएको छ। नेपालमा उत्पादन भएका निर्माण सामग्री छन् त्यसका निम्ति उपभोक्ताले ब्रान्डप्रति सचेत हुनुपर्ने सुझाव व्यवसायीको छ।

 

टीएमटी स्टिलको प्रयोग ठूला संरचना निर्माणका लागि अनिवार्य जस्तै भइसकेको छ। नेपालमा जलविद्युत्लगायत ठूला निर्माणका लागि डन्डीलगायतका निर्माण सामग्री भारत, चीन र टर्कीलगायत मुलुकबाट आयात हुन्छ। संरचना निर्माणका लागि नेपालमा बनाइएको मापदण्ड ‘नेपाल गुणस्तर’ अनुसार छडको उत्पादन गरिरहेको कम्पनीले दाबी गर्दै आए पनि ठूला परियोजना निर्माणका लागि छड आयात भइरहेको छ।

हरेक संरचना निर्माणको मेरुदण्डका रूपमा रहेको छड तथा स्टिल कम्पनीले भोग्ने समस्याको फेहरिस्त पनि लामो छ। सरकारले आन्तरिक उत्पादनलाई बढावा दिन नसक्नु र आयातित छडलाई मुलुकभित्रकै उत्पादनले प्रतिस्थापनका लागि कुनै पहल गर्न नसक्नु सबैभन्दा ठूलो चुनौती हो। सरकारले नै आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्न सकेको देखिँदैन। कच्चा पदार्थको आयातमा प्रक्रियागत ढिलाइ, बैंकिङ क्षेत्रमा बेला–बेलामा देखिने तरलता अभावका कारण कर्जा नपाइने जस्ता चुनौती पनि यस क्षेत्रमा रहेको व्यवसायीको गुनासो रहेको छ।

विगत लामो समयससम्म जारी ऊर्जा संकटलाई पछिल्लो समयमा न्यूनीकरण भए पनि अझै ढुक्क हुन सक्ने अवस्था भने छैन। साथै रिसाइक्लिङ प्रक्रियालाई भरपर्दो र मापदण्डअनुसार हुनुपर्छ भन्ने पहल जारी छ। कतिपय अवस्थामा कबाड पेलेर बन्ने स्टिलमा कार्बन, म्याग्निज, फस्फोरस कन्टेन्ट कम हुन्छ जसका कारण स्टिलमा हुने विशेष गुण कम हुन जान्छ। स्टिल उत्पादनमा दुई किसिमका फर्नेस प्रयोग गरिन्छ। आर्क फर्नेसबाट बनेको प्राइमरी स्टिल हुन्छ भने ब्लास्ट फर्नेसबाट बनेको सेकेन्डरी स्टिल हुन्छ। ब्लास्ट फर्नेसबाट बनेकोलाई थप ल्याडल रिफाइन गर्नुपर्ने हुन्छ। उत्पादन मूल्य नै एकदमै महंँगो पर्न जाने भएकाले ब्लास्ट फर्नेस प्रविधिबाट बनेका छड भने नेपालमा उपलब्ध छैनन्।

विद्युत आपूर्ति सहजरूपमा हुन थालेपछि नेपालमा स्टिल उत्पादनको क्षेत्रमा आत्मनिर्भरतातर्फ अगाडि बढिरहेको उद्यमीहरूले बताउँदै आएका छन्। स्टिल र छड उद्योगमा पहिले सहज विद्युत आपूर्ति नहुँदा उत्पादनमा प्रभाव पारे पनि हाल प्रमुख समस्या र चुनौतीका रूपमा सरकारको नीति नियम नै रहेको उनीहरूको गुनासो छ। सरकारी संयन्त्रले नै कच्चा पदार्थ मुलुकभित्रै उत्पादन गर्ने लगायत स्टिल उद्योगको उत्पादकत्व विकास र बजार प्रवद्र्धन गर्न सके केही वर्षभित्रै आत्मनिर्भर हुन सक्ने उनीहरूको भनाइ छ।

अमेरिकी डलर र इन्धनको मूल्यमा हुने तीव्र उतार–चढावले कच्चा पदार्थको मूल्यमा फरक आइरहने र भारतले ओभरलोडमा कडाइ गरेपछि नेपालमा बेला–बेलामा छड उत्पादनका लागि चाहिने कच्चा पदार्थको अभाव देखिने गरेको छ।

मुलुकभर वार्षिक १० लाख टनभन्दा बढी डन्डी अथवा छडको माग रहेको अवस्थामा हाल नेपालभित्रैको उत्पादनले मागको आधाजसो मात्रै धानेको छ। स्वदेशमा हाल ५ लाख टनभन्दा बढी डन्डी उत्पादन हुँदै आएको छ। नेपालमै उत्पादित छडले आफ्नो गुणस्तरमा अब्बल रहेको दाबी गर्दै आए पनि विभिन्न ठूला आयोजनामा भने अझै पनि विदेशी छड नै प्रयोग हुने गरेको छ। नेपालमै उत्पादित डन्डीले नेपाली बजारमा ८० देखि ९० प्रतिशत खपत हुने गरेको छ।

केही प्रतिशत भारतमा पनि निर्यात हुने गरेको छ। भारतबाट छडका लागि चाहिने कच्चा पदार्थ प्राइम ब्लेड आयातमा उच्च परनिर्भरताका कारण नेपालमा उत्पादित छडमा लागत बढी पर्ने गरेको उद्योगीहरू बताउँछन्। नेपालमा उत्पादित छड गुणस्तरका हिसाबले अन्य मुलुकमा निर्मित छडसँग प्रतिस्पर्धी भए पनि उत्पादन लागत बढी रहेकाले मूल्यका हिसाबले भने महंँगो रहेको छ।

मुलुकमा १ दशमलव ५ मिलियन टन वार्षिक माग रहेको स्टिल तथा डन्डी बाहिरी प्रयोजनका लागि पनि उत्तिकै मात्रमा प्रयोग हुने गरेको छ। रोलिङ, ढोका, फलामे बार, टेबुल, कुर्सीलगायतमा पनि प्रयोग हुने गरको छ। यस्ता बाहिरी प्रयोजनका लागि प्रयोग हुने फलाम र छडमा खिया लाग्न नदिन विशेष सावधानी अपनाउनुपर्दछ। खिया प्रतिरोधी पेन्टको प्रयोगले ढोका तथा बारमा लाग्ने खिया लाग्ने समस्याबाट राहत पाउन सकिन्छ। त्यस्तै तेल, गिरिजलगायत चिल्लो पदार्थको प्रयोग पछि डिग्रिजरको प्रयोग गर्दा दिगो बनाउन मद्दत पुग्छ।

 

प्रतिक्रिया दिनुहोस्