हवाई तथा पर्यटन क्षेत्रमा निर्माण सामग्रीको उच्च माग



सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। सरकारले प्राथमिकतामा राखेर बृहत् योजना ल्याएको हुँदा हवाई यातायातको पूर्वाधार विकासमा ठूलो परिमाणमा निर्माण सामग्रीको खपत हुने देखिएको छ।

दीपेन्द्र थापा

पूर्वाधार विकासका निम्ति सडक र पुल जस्तै विमानस्थलको निर्माण पनि अत्यन्तै महङ्खवपूर्ण रहेको छ। नेपालमा जसरी सडक, पुल, भवन निर्माणले तीव्रता पाएको छ। त्यसको गतिमा विमानस्थल निर्माणको उत्तिकै सक्रियता रहेको छ।निजगढ र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा क्षेत्रीय विमानस्थल अहिले राष्ट्रिय प्राथमिकतामा रहेका विमानस्थल हुन्। निर्माणको चरणमा रहेका यी विमानस्थलमा अर्बौं रुपियाँ लगानी भइरहेको छ। राष्ट्रिय महङ्खवका यी विमानस्थल निर्माणका निम्ति ठूलो परिमाणमा निर्माण सामग्रीको आवश्यकता पर्छ।

स्वदेशमा उत्पादन भएका निर्माण सामग्रीको गुणस्तरीता, स्रोतको उपलब्धताको परीक्षण गर्न पनि यी विमानस्थल रणनीतिकरूपमा महत्वपूर्ण रहेका छन्। त्यसबाहेक क्षमता बिस्तार र स्तरोन्तिका क्रममा रहेका अन्य विमानस्थलका कारण पनि नेपालमा निर्माण समग्रीको खपत उच्च रहेको देखिन्छ।

नेपालमा कुल ५१ वटा विमानस्थल रहेकोमा हाल ३१ विमानस्थल सञ्चालनमा रहेको छन्। करिब २० वटा विमानस्थलको स्तरोन्नति भइरहेको छ। पर्यटन विकास र मानिसको जीवनशैलीमा आएको परिवर्तनका साथै क्रयशक्तिमा भएको वृद्धिका कारण नयाँ विमानस्थलको माग पनि बढी रहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणमा १४ वटा विमानस्थल निर्माणका निम्ति माग गरिएको छ भने हाल ७ वटा विमानस्थलको निर्माणकार्य भइरहेको छ।

पछिल्लो समयमा हरेक जिल्लाबाट विमानस्थलको माग हुने गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले इलाम, गुल्मी, कालिकोट, पोखरा र भैरहवालगायतका क्षेत्रमा विमानस्थल निर्माणाधीन अवस्थामा रहेको प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपानेले बताउनुभयो।

नयाँ माग गरिएको

विमानस्थलमध्ये उदयपुर, अर्घाखाँची, धनकुटा, धरान सोलुखुम्बु, पाल्पा, सुर्खेतलगायतका स्थामा सम्भाव्यता अध्ययन अन्य कानुनी प्रक्रिया भइरहेको न्यौपानेले बताउनुभयो।

राजविराजसहित ३९ विमानस्थलमा ९६ प्रकारको स्तरोन्तिको काम भइरहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि स्तरोन्तिको काम भइरहेको छ। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा हवाई क्षेत्रमा १९ अर्ब ३५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ।

सरकारले प्राथमिकतामा राखेर बृहत् योजना ल्याएको हुँदा हवाई यातायातको पूर्वाधार विकासमा ठूलो परिमाणमा निर्माण सामग्रीको खपत हुने देखिएको छ। हवाई पूर्वाधार निर्माण फरक ढंगबाट गरिने भएकाले सानो परियोजना नै भए पनि त्यहाँ धेरै मात्रामा निर्माण सामग्रीको अवश्यकता पर्छ। त्यसैले गुणस्तर र परिमाणमा योग्य कम्पनीले आफ्ना उत्पादन कहाँ खपत गराउने भन्ने चिन्ता छैन।

अन्यत्र जस्तै हवाई पूर्वाधारको विकासमा ठेकेदार, ऋणदाता र सहयोग विदेशीको हुने हुँदा निर्माण सामग्री पनि विदेशकै हुने सम्भाना धेरै हुन्छ। परियोजनाको सम्झौता गर्दा यस किसिमको प्रावधान राख्ने प्रचलन रहँदै आएको पृष्ठभूमिमा नेपाली उत्पादनको बजार बिस्तारका निम्ति चुनौती बन्न सक्छ।

त्यसका निम्ति पहिलो कुरा नेपालको निर्माण सामग्री अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्यो अर्को कुरा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषयलाई नीतिगतरूपमा नै निर्णय भएको सन्दर्भमा नेपालको निर्माण बजार बिस्तारका लागि यो उपयुक्त माध्यम हुन सक्छ।

सरकारले हरेक कोणबाट विकास–विकास मात्रै भनेको हुँदा विकासका निम्ति निर्माण पहिले गर्नुपर्ने र त्यसलाई निर्माण सामग्री आवश्यक पर्ने भएकाले यति बेला नेपालका निर्माण सामग्री उत्पादक कम्पनीलाई सम्भावना नै सम्भावना रहेको देखिन्छ।

ठूला होटलको संरचनामा विकास हुँदै

पर्यटन विभागका अनुसार सन् २०२० सम्म थप १० वटा पाँचतारे होटल थपिँदै छ। हालसम्म २ अर्ब ५० करोड रुपियाँ होटल क्षेत्रमा लगानी रहेकोमा थप ३३ अर्ब लगानी हुँदै छ। होटल संघ नेपालका महासचिव विनायक शाहका अनुसार साना–ठूला गरी समग्र होटल क्षेत्रमा १० खर्बको हाराहारीमा लगानी रहेको बताउनुहुन्छ।

सन् २०२० मा २० लाख पर्यटक भित्याउने लक्ष्य सरकारले बजेट मार्फत लिएको छ। ४ हजार नयाँ बेड थपिँदै छन्। यसपछि कुल बेड क्षमता ४२ हजार पुग्नेछ। थपिने बेडमध्ये २ हजार काठमाडौंमा थपिने छन्। पर्यटन विभागका अनुसार १० महिनामा १९ पर्यटकीय होटल दर्ता भएका छन्। पर्यटक विभागमा हालसम्म दर्ता भएको १ तारे होटलको संख्या ३६ रहेको छ भने दुईतारे होटलको संख्या ५० रहेको छ। तीनतारे होटलको संख्या ४१ रहेको छ भने ४ तारे होटलको संख्या ४ रहेको छ। पाँचतारे होटलको संख्या ११ रहेको छ।

त्यस्तै पर्यटकस्तरीय होटलको संख्या ४ सय ८० रहेको छ। आगामी ३ वर्षमा पर्यटन क्षेत्रमा ८३ अर्ब रुपियाँ लागानी गर्न लक्ष्य रहेकोमा ८ अर्ब सरकारले र बाँकी निजी क्षेत्रले लगानी गर्ने अपेक्षा राखिएको छ। पर्यटनविद् प्रचण्डमान श्रेष्ठले भारत र चीनका नागरिकमा भ्रमण गर्ने परम्परा बढ्दै गएको बताउनुभयो।

भोलिको आशा देखेर पनि नेपालमा लगानी बढेको श्रेष्ठको पनि धारणा छ। पर्यटनमैत्री वातावरण, पर्यटकलाई सुरक्षाको प्रत्याभूति र पूर्वाधारको विकास गर्न सके नेपालको पर्यटन व्यवसाय उज्ज्वल रहेको धारणा श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्