खस्कँदो शैक्षिक गुणस्तरप्रति चिन्ता



माध्यमिक शिक्षाको अन्तिम खुड्किलोको रुपमा रहेको एसईईमा लेटर ग्रेडिङ प्रणाली लागू भएपछि परीक्षाको नतिजा खस्कन थालेको छ । माध्यमिक तहमा फेल गर्न नपाइने नियम लागू भएपछि विद्यार्थीमा देखिएको अल्छीपनाले परीक्षाको नतिजा खस्कँदै गएकोमा शिक्षाविद्हरु चिन्तित हुन थालेका छन् ।

न्यून अंक ल्याउने विद्यार्थीले समेत माथिल्लो कक्षामा भर्ना पाउने भए पछि विद्यार्थीले मेहनत गर्न छाडेको माध्यमिक परीक्षा कक्षा १० को शनिबार प्रकाशित नतिजाले देखाएको छ । विद्यार्थीमा नपढे पनि माथिल्लो कक्षामा पढ्न पाउने भएपछि मेहनत गर्नुभन्दा पनि झारा टार्ने काम हुन थालेको शिक्षाविद्हरु बताउँछन् ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को मापदण्डअनुसार कक्षा ११ मा विद्यार्थी भर्नाका लागि एसईईमा डी प्सल ल्याउने विद्यार्थीले पनि भर्ना पाउने व्यवस्था लागू भएपछि विद्यार्थीको गुणस्तर खस्किन थालेको भन्दै सरोकारवाला निकायहरुले आफैंले लागू गरेको नियम प्रत्युत्पादक भएको हो कि भनी चिन्ता व्यक्त गर्न थालेका छन् । लेटर ग्रेडिङ प्रणालीमा उत्तीर्ण र अनुत्तीर्ण किटान नगरी स्तरीकृत अंकमा विद्यार्थीको नतिजा आउन थालेपछि नपढे पनि पास भइन्छ भन्ने सन्देश विद्यार्थी, शिक्षक र अभिभावकमा परेका कारण शिक्षाको गुणस्तर खस्कन थालेको पाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको यस वर्षको परीक्षाको नतिजामा डी प्लस ल्याउनेको संख्या ३५ भन्दा बढी रहेको पाइएको छ । यस वर्षको परीक्षामा ६० हजार विद्यार्थी सी प्लसमा उत्तीर्ण हुनुले पनि नेपालको शिक्षा प्रणालीलाई चित्रित गर्न खोजेको छ । विद्यार्थीमा राम्रो अंक ल्याउनुपर्छ भन्ने भावना कम हुँदै गएका कारण शिक्षामा राज्यले गरेको लगानीको हिसाबले प्रतिफल हरेक वर्ष खस्कँदै गएको छ । त्यसैले यसतर्फ राज्यको ध्यान जान जरुरी भइसकेको छ ।

जसरी पनि १ दशमलव ६ जीपीए ल्याए हुने मान्यता स्थापित भएका कारण शैक्षिक वातावरण नै धुमिल बन्दै गएकोमा शिक्षाविद्हरुले चिन्ता व्यक्त गरेका छन् । सरकारको नीतिअनुसार जीपीए २ ल्याएका विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय पढ्न पाउनेछन् । सो विषय पढ्न एसईईमा अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपालीमा डी प्लस प्राप्त भएको हुन आवश्यक छ । विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान र गणितमा सी प्लस र अंग्रेजीमा सी अनिवार्य ल्याउनुपर्छ ।

व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न १.६ जीपीए ल्याउनेले पनि अवसर पाउने व्यवस्थाले पनि शिक्षाको गुणस्तर खस्कँदो क्रममा रहेको भन्दै यसको पुनरवलोकन हुनुपर्ने आवाज उठ्न थालेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्