महाराजगंजलाई समृद्ध नगर बनाउने



सीताराम चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको महाराजगंज नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । “कृषि, उद्योग रोजगार र पूर्वाधार, सुशासन र विकास महाराजगंजको आधार” भन्ने नारा सहित समृद्ध महाराजगञ्जको परिकल्पनासहित नगरसभा सम्पन्न भएको हो । नगरसभामा नगरप्रमुख अब्दुल कलाम खानले आगामी आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

विगत एक वर्षको समयमा नगरपालिकाले अव्यवस्थित बस्तीका सडकहरुलाई पि सि सि गर्ने योजना अनुसार संचालित कार्यक्रमले ३५ वटा वस्तीहरुमा सडक निर्माण भइसकेको प्रमुख कलामले वताउनुभयो । नगरपालिका स्तरीय सडकको स्तरोन्नति भई १२ महिनाको सडक संचालन हुने अवस्थामा परिणत रहेको उहाँले वताउनुभयो ।

चालु आर्थिक वर्षमा अधिंकाश वजेट पूर्वाधार विकास लक्षित गरेर विनियोजन गरेकाले नगरपालिकाले पूर्वाधारतर्फ उल्लेखनीय विकास गरेको कलामले वताउनुभयो । नगरलाई आवश्यक ऐन, कानुन नियम निर्देशिका निर्माण गरी स्थानीय सरकार संचालनलाई प्रभावकारी बनाउन नगरपालिकाले गृहकार्य गरिरहेको नगरप्रमुख कलामको भनाई छ ।

नगरलाई समृद्ध बनाउने उद्देश्य स्वरुप आगामी कार्यक्रम अन्तर्गत नगरपालिकालाई सुशासनको प्रत्याभूति गराई भ्रष्टाचारजन्य क्रियाकलापप्रति शुन्य सहनशिलता अवधारणा प्रदान गरिने वताइएको छ । आगामी आर्थिक वर्षमा नगरप्रहरीको दरवन्दी स्वीकृत गरी नगरप्रहरीको व्यवस्था गर्ने कार्यक्रम रहेको छ । रोजगारीको लागि विभिन्न सीपमूलक तालिमहरु संचालन गरिने कार्यक्रम राखिएको छ । यस्तै सामाजिक विकासतर्फ व्यवसायिक तथा प्राविधिक शिक्षालाई जोड दिदै प्राविधिक शिक्षालय स्थापना गरी संचालन गर्ने, नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्ने, वालमैत्री स्थानीय शासन पद्धति सुरुवात गर्ने, २५ शैयाको अस्पताल निर्माण गर्ने लगायत अन्य चेतनामूलक कार्यक्रम गर्ने नीति तथा कार्यक्रम रहेको छ ।

नगरपालिकाको पूर्वाधार विकासतर्फ यस वर्ष सुरु भएका योजनाहरुलाई निरन्तरता दिने, नगरभित्र रिङरोड निर्माण, विद्युतीकरणलाई व्यवस्थित गर्ने, सौर्यबत्ती जडान गर्ने, नगरभित्र नमुना वस्ती निर्माणको अध्ययन गरी कार्य अघि वढाउने, सुकुम्वासीको लागत संकलन गरी व्यवस्थापन गर्ने, खानेपानी योजना मर्मत तथा निर्माण गरिने योजना रहेको नगरप्रमुख कलामले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै कृषि क्षेत्रमा भू–उपयोग नीति निर्माण गरिने, कृषि क्षेत्रको विकासको लागि वैज्ञानिक र व्यवसायिक खेती प्रणाली अवलम्बन गरिने, कृषकलाई मल, विउको अनुदान व्यवस्था गर्ने, तरकारी तथा च्याउ खेतीलाई विशेष जोड दिने, नगरपालिकाभित्र रहेका मठमन्दिर, मदरसा, मस्जीदलाई व्यवस्थित गरिने वताइएको छ । नगरप्रमुख अब्दुल कलामले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्