मेलम्ची आयोजनाको फेरी तीनमहिना म्याद थप



 

–रमेश लम्साल

काठमाडौँ, । आगामी असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालय मातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण व्यवसायीका उच्च प्रतिनिधिको छलफलपछि निर्माण व्यवसायीको म्याद थप गरिएको हो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद कँडेलकाअनुसार आगामी दशैँ अगावै मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा पथान्तरण ९पानी खसाल्ने० गर्ने शर्तसहित निर्माण व्यवसायीसँग सहमति भएको हो ।

निर्माण व्यवसायीको रुपमा सिएमसीले तोकिएबमोजिमको काम नगरेपछि खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा इटालीमा रहेको उच्च व्यवस्थापनलाई पत्राचार गरेको थियो । गत जेठ १८ गते १५ दिनको म्याद राखेर मन्त्रालयले आयोजनामा किन ढिलाई भएको हो रु भन्ने प्रश्नको उत्तर दिन भनेको थियो ।

मन्त्रालयको पत्रलगत्तै सिएमसीको केन्द्रीय कार्यालय इटालीबाट निर्माण व्यवसायीको उच्च प्रतिनिधि नेपाल आएको थियो । पटकपटक काम गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्ने तर कुनै पनि जिम्मेवारी पूरा नगर्ने देखिएपछि सरकारले ठेक्का तोड्नेसम्मको चेतावनी दिएको थियो ।

“लगातारको छलफलपछि निर्माण व्यवसायी असोज मसान्तसम्म सुन्दरीजलमा पानी पथान्तरण गराउन सहमत भएको छ”–कार्यकारी निर्देशक कँडेलले भन्नुभयो ।

गत चैत २७ गते नै आयोजनाको कूल २७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएपछि निर्माण व्यवसायीले काम गर्न आलटाल गर्दै आएको थियो । उसले ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दीपछि आफूहरुले बढी काम गर्नुपरेको र बाँधस्थल रहेको सिन्धुपाल्चोकको अम्बाथानमा तोकिएभन्दा बढी काम गरेको भन्दै रु एक अर्ब ६५ करोड थप रकम माग गर्दै आएको थियो ।

निर्माण व्यवसायीको मागमध्ये परामर्शदाता स्फ्टेशाको सिफारिशमा रु २८ करोड थप रकम दिइसकेको छ । तर उसले थप रकम पाउनुपर्ने भन्दै शर्त राखेर सुरुङ मर्मतको काम रोक्दै आएको थियो । निर्माण व्यवसायीलाई सरकारले हालसम्म रु सात अर्ब ८० करोड भुक्तानी गरिसकेको छ ।

निर्माण व्यवसायीको दाबीमाथि विवाद समाधान समितिको बैठकमा छलफल भएको छ । त्यसको निर्णय भने सार्वजनिक भइसकेको छैन । “सुरुङ ब्रेकथ्रु पछि त सुरुङ मर्मतलगायतको काम नै हुन सकेन, करीबकरीब नगण्य रुपमा मात्रै काम भएको थियो, पछिल्लो सहमतिपछि आयोजना अगाडि बढ्छ भन्ने आश पलाएको छ”–कार्यकारी निर्देशक कँडेलले भन्नुभयो ।

पूर्वसहमतिअनुसार निर्माण व्यवसायीले आगामी साउन मसान्तसम्म सुन्दरीजलमा पानी ल्याउनुपर्ने थियो । तर लामो समय काम रोकिँदा त्यो म्याद अब सरेर असोज मसान्त पुगेको छ । कार्यकारी निर्देशक कँडेलले यही असार ८ गते आयोजना विकास समिति र निर्माण व्यवसायीबीच निर्माणकार्यलाई तीव्रता दिने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

खानेपानी मन्त्री बीना मगरले निर्माण व्यवसायीले काम नगरेको र शर्तअनुसार सुरुङ मर्मतमा ध्यान नदिएको भन्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी कूटनीतिक पहल गरिदिन आग्रह गर्नुभएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना गत वैशाखमा नै सम्पन्न गर्ने लक्ष्य राखिएपनि धकेलिँदै आएको छ । सरकारले आयोजनाका लागि सबै प्रकारको साधन स्रोत उपलब्ध गराएपनि निर्धारित लक्ष्यमा काम हुन सकेको थिएन ।

पछिल्लो शर्तसहितको सहमतिपछि भने आगामी दशैँ अगावै काठमाडौँमा पानी आइपुग्ने सम्भावना बढेर गएको बताइन्छ । कूल २७ किलोमिटर लामो सुरुङमध्ये हालसम्म करीब सात किलोमिटर सुरुङ मर्मत भइसकेको छ । अब बाँकी रहेको २० किलोमिटर सुरुङ मर्मत गर्ने, बाँधस्थलको निर्माण तथा अन्य प्राविधिक काम सम्पन्न गरेर आयोजना सम्पन्न गर्ने विषयमा आयोजना र निर्माण व्यवसायीबीच सहमति भएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्