ब्यापार युद्धले चीनको सेयर बजारमा ठुलो गिरावट



बेइजिङ (एजेन्सी)
चीन र अमेरिका बीचको ब्यापार युद्धले चीनको सेयर बजारमा ठुलो उथलपुथल आएकोछ ।
जनवरीको तुलनानमा सांघाई कम्पोजिट इन्डेक्समा १९ प्रतिशतले गिरावत आइसकेको छ । शुक्रबार यो २ हजार ८ सय उनान्नब्बे दशमलव ७८ अंकमा बन्द भयो । चीनको सेयर बजारमा सेयरधनीहरु डरले सेयर बेचिरहेका छन् तर किनिरहेको छैन ।

चीनको सेयर बजारमा यसप्रकारको उथलपुथल सन् २०१५ मा पहिलो पटक देखिएको थियो । चिनियाँ सेयर बजारमा यस हप्तामात्रै ५ सय १४ अर्ब डलरको नोक्सान भइसकेको साउथ चाइना मर्निंग पोस्टले जनाएको छ । यो स्विडेनको अर्थब्यवस्था बराबर छ ।

यो नोक्सान अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको २ सय अर्ब डलर अतिरिक्त शल्क लगाउने चेतावनी पछि भएको हो । ट्रम्पकोे यो चेतावनी चीनले समान कदम चाल्ने धम्कि दिएपछि आएको हो ।

सांघाइ कम्पोजिट गत दुई बर्षमा ३४ प्रतिशतले बलियो भएको थियो । ठुला कम्पनीको मुनाफाका कारण यो उतार आएको थियो । चिनियाँ सेयर बजार अहिले ब्यापार युद्ध र पुँजीको अभावको दोहोरो मारमा परेको विज्ञहरुले बताएका छन् ।

ब्यापार युद्धका कारण चिनिया सेयर बजारमा विदेशी लगानीकर्ताहरुमा अविश्वासको वातावरण उत्पन्न भएको बताइएको छ ।

मंगलबार मात्रै विदेशी निवेशकले ३ सय ६ अर्ब ३० करोड युआनको सेयर बेचेको र विहिबार ८३ करोड ४२ लाख युआनको सेयर बेचेको साउथ चाइना पोस्टले जनाएको छ ।

यस ब्यापार युद्धले अमेरिकी सेयर बजारमा पनि असर परेको देख्न सकिन्छ । अमेरिका तर्फबाट सुरु गरिएको यो युद्ध, शीत युद्धको स्थितिमा परिणत हुने सक्ने बताइएकोछ । चीन र अमेरिका विश्वका दुई सबैभन्दा ठुला अर्थब्यवस्था हुन । यी दुई बीचको तनाव लामो समयसम्म जारी रहेकमा यसले विश्वभरीको अर्थब्यवस्था प्रभावित हुने निश्चित छ ।

जापान, भियतनाम र फिलिपिन्सको सेयर बजारमा पनि ठुलो उथलपुथल आएको वालस्ट्रिट जर्नलले जनाएको छ । अमेरिकाले स्टिल र आल्मुनियममा अतिरिक्त शुल्क घोषणा गरेपछि अहिलेसम्ममा विश्व भरिको सेयर बजारमा ७८ खर्ब डलरले गिरावत आइसकेको निक्केइ एसियन रिभ्युले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्