महानिरीक्षक खनाल र राष्ट्रसंघका अधिकारीबीच छलफल



नेपाल समाचारपत्र, काठमाडौं
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नयाँ फम्र्ड पुलिस युनिट( एफपीयु) मिसन थप गर्न संयुक्त राष्ट्रसंघ सकारात्मक भएको छ ।

दोश्रो युनाइटेड नेशन्स चिफ अफ पुलिस समिटमा सहभागी हुन अमेरिका पुग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पिस किपिङ अपरेशन (डिपीकेओ) का उच्च अधिकारीहरु बीच भएको भेटवार्तामा एफपीयु मिसन थपका लागि सकारात्मक छलफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा भएको सो छलफलमा संयुक्त राष्ट्रसंघका उच्चअधिकारीहरुले शान्ति मिसनमा सशस्त्र प्रहरी कर्मचारीले पु¥याएको योगदानको प्रशंसा समेत गरेका छन् । उक्त छलफलमा संयुक्त राष्ट्रसंघले शान्ति स्थापना कार्यमा सशस्त्र प्रहरी बल नेपालले अझै बढि योगदान पु¥याउन आग्रह गर्दै यूएनको नीति अनुसार एफपीयु मिसनमा महिला प्लाटुन समेत बढाउन आग्रह गरेको थियो ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा त्यहाँका उच्च अधिकारी तथा सशस्त्र प्रहरी महानिरीक्षक खनालबीच इन्डिभिजुअल पुलिस अफिसरको रुपमा विभिन्न शान्ति मिसनमा खटिने सशस्त्र प्रहरी कर्मचारीको संख्या बृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले विहिबार, शुक्रबार र शनिबार संयुक्त राष्ट्रसंघका उच्च अधिकारी लगायत विभिन्न देशका प्रहरी प्रमुखहरुसंग छलफल गर्नुभएको थियो । त्यसक्रममा विभिन्न मुलुकका सुरक्षा संगठनले गर्ने काम कारवाहीको शैली तथा अपराधको अवस्था र नियन्त्रणको प्रयास सम्बन्धमा समेत छलफल भएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्