मनाइयो संगीत दिवस



बर्षकै लामो दिन २१ जुनलाई विश्व संगीत दिवसका रूपमा मनाउने क्रममा राजधानीमा सांगीतिक कार्यक्रम गरिएको छ। सांस्कृतिक संस्थान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय र नेपाल सांगीतिक संघले संयुक्तरूपमा विविध कार्यक्रम गरेर विश्व संगीत दिवस मनाएका हुन्।

करिब ३ घन्टासम्म चलेको कार्यक्रममा विभिन्न गायकगायिकाले गीत–संगीत प्रस्तुत गरेर विश्व संगीत दिवस मनाए।
नेपाली सैनिक ब्यान्डको प्रत्यक्ष सांगीतिक प्रस्तुतिले उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत दर्शकको मन जितेको थियो। गायक छिरिङ भुटिया र उनको ब्यान्डको प्रस्तुति उस्तै रोच रह्यो। गायक यम बरालले प्रदर्शोन्मुख फिल्म भैरेका लागि आफूले संगीत भरेको तथा गाएको सनम माया लाको गीत गाएर दर्शक उफारे। कार्यक्रममा जुना प्रसाईं, टीका प्रसाईं, धिरज राई, विपीन घिमिरे, सञ्जीव पराजुली, प्रास्ना शाक्य, याङ्सु श्रेष्ठ, साधना कला केन्द्रका कलाकारलगायतले पनि आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा विभिन्न संगीतकर्मीलाई सम्मानसमेत गरिएको छ। सो अवसरमा नेपाली गीत–संगीतको क्षेत्रमा ५ दशकदेखि योगदान पु¥याएबापत संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटालाई सम्मान गरियो। त्यसै गरी विश्व बल्लभ, नृत्य निर्देशक बेटी वज्राचार्य, वाद्यवादक न्हुच्छेमान डंगोल, पूर्वरजिस्टार राजेन्द्र सिग्देल र कला पत्रकार विजयरत्न तुलाधरलाई सम्मान गरियो।

कार्यक्रममा सांस्कृतिक संस्थानका तर्फबाट गायिका लोचन भट्टराई र रेखा श्रेष्ठ कटुवाललाई दीर्घ सेवा पदक, सीता कार्कीलाई उत्कृष्ट सेवा सम्मान र गीतकार लोकराज अधिकारीलाई सम्मान गरियो।

संगीतकर्मीलाई सम्मान गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व संगीत दिवसले विश्वका संगीतकर्मीलाई जोड्ने काम गरेको बताए। सम्मानित स्रष्टाका तर्फबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले विश्व संगीत दिवस आफूहरूका लागि महत्वपूर्ण दिन भएको तथा नेपाली संगीत विश्वमा फैलि“दै गएको चर्चा गरे। त्यसै गरी सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले विश्व संगीत दिवसबारे प्रकाश पारे।

प्रतिक्रिया दिनुहोस्