म्याच प्रिभ्यु: बेल्जियमले जितलाई निरन्तर दिने धुनमा



समूह जी को दोस्रो चरणको खेलअन्तर्गत शनिबार हुने खेलमा फिफा वरियताको तेस्रो स्थानको बेल्जियमले २१ औं वरियताको ट्यूनीसियाको सामना गर्दैछ । समूह जी को पहिलो खेलमा विश्वकपको नव प्रवेशी टोली पानामालाई ३–० ले हराएर ईडेन हजार्डको कप्तानीमा रहेको बेल्जियमले उपाधिमाथि बलियो दावेदारी प्रस्तुत गरेको छ ।

उक्त खेलको पहिलो हाफ गोलबिहीन बनेको बेल्जियमले दोस्रो हाफमा लय भेटाएको थियो । यो समेत दोस्रो हाफमा बेल्जियमले गोलको खाता खोलेको खेल संख्या ११ पुगेको छ । उक्त खेलपछि कप्तान हजार्डले हाम्रो आशा ठूलो रहेकोले क्रमिक रुपमा राम्रो नतिजा निकाल्दै जाने बताए थिए ।

उनले भने, –“ हाम्रा समर्थकले हामीबाट ठूलो आशा राखेका छन् , त्यसैले समूह चरणको सबै खेल उत्तिकै महत्वपूर्ण छ ।“
पहिलो खेलमा बल पोजीसनमा राम्रो देखिएको बेल्जियमले ट्यूनीसियालाई दवाबमा राख्न सक्नेछ । समूहमा ३ अंक जोडिसकेकाले तुलनात्मक रुपमा ट्यूनिसिया भन्दा बेल्जियमलाई दवाब कम हुने निश्चित छ । बेल्जियमका डिफेन्डर थोमस भर्मालिन भने ट्यूनीसियाविरुद्धको खेलमा पनि मैदानमा देखिने छैन । चोटमुक्त भएका भर्मालिनलाई बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले इंग्ल्याण्डविरुद्ध हुने समूहको अन्तिम खेलमा मात्र मैदानमा उतार्ने बताए ।

बेल्जियमका कप्तान हजार्डका साथै असिस्ट किंगले परिचित केभीन डे ब्रुयेने तथा पानामाविरुद्ध २ गोल गरेका रोमेलु लुकाकुले अली मलोलसहितको ट्यूनीसियाको रक्षापंक्तिलाई ब्यस्त पार्नेछ ।

यता पहिलो खेलमा इंग्ल्याण्डसंग अन्तिम क्षणमा २–१ ले पराजित भएको ट्यूनीसियालाई बेल्जियमविरुद्ध जित नै आवश्यक रहेको छ । समूहमा बेल्जियम र इंग्ल्याण्डले समान तीन–तीन अंक जोडिसकेकोले ट्यूनिसियालाई दवाब बढेको हो । यदि बेल्जियमसँग कुनै अंक जोड्न नसकेमा ट्यूनिसियाको विश्वकप यात्रा लगभग समाप्त हुनेछ भने बेल्जियम अन्तिम १६ का लागि छनोट हुनेछ ।

इतिहासलाई हेर्ने हो भने १९७८ मा मेक्सिकोलाई ३–१ ले हराएयता खेलेको पछिल्ला १२ विश्वकप म्याचमा ट्यूनीसियाले जितको अनुहार देखेको छैन । बेल्जियमविरुद्धको खेलमा भने ट्यूनीसियाको पहिलो रोजाईका गोलरक्षक मोएज हस्सेन हुने छैन । गत इंग्ल्याण्डविरुद्धको खेलमा काँधमा चोट बोकेका उनी उपचारका लागि स्वदेश फर्किसकेका छन ।

सम्भवतः बेल्जियमविरुद्ध रक्षात्मक रणनीतिमा उत्रने ट्यूनीसियाले फ्रेन्च लिगका चर्चित खेलाडी सेफ एडी खाओइ र सन्दरल्यान्डका पूर्व खेलाडी हावी व्हाबी खजरीको काउन्टर अट्याकलाई प्राथमिकतामा राख्न सक्नेछ । सम्भावित ३–४–२–१ को रणनीतिमा उत्रने बेल्जियमविरुद्ध ट्यूनीसियाले ४–२–३–१ को रणनीति अवलम्बन गर्न सक्नेछ ।

हेड टू हेड
यसअघि यी दुई टिमले एकअर्का विरुद्ध ३ म्याच खेलेका छन् । जसमध्ये दुवैले समान एक–एक खेल जितेका छन भने एक खेल बराबरीमा टुंग्याएका छन्।

प्रतिक्रिया दिनुहोस्