खुला ठाउँमा यौनकार्य गरे एक वर्ष कैद



गंगा बराल, काठमाडौं
सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ को दफा १२३ मा यस्तो कारवाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ बाट कानुनको रुपमा लागू हुनेछ ।

‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नु हुँदैन’ भनिएको छ । यसो गरे १ वर्षसम्म कैद वा १० हजार रुपिँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

परिच्छेद २७ को दफा २९० मा ‘पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने’ व्यवस्था छ । कसैले कुनै पशुपंक्षीलाई कुटी, हिकाई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाउन हुँदैन । सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाउन हुँदैन । साथै हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न वा गराउन हुँदैन । यसो गरेमा ३ महिनासम्म कैद वा ५ हजार रुपिँयासम्म जरिवाना वा दुवै सजाय भोग्नुपर्नेछ ।

तर पशुपंक्षीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपुर्ण बनाउने उदेश्यले न्यूनतम बल प्रयोग गरी कुनै काम गर्न वा पशुपंक्षीलाई त्यसको शारीरिक क्षमता अनुसार कुनै भारी बोकाउन वा दौडाउन बाधा पर्ने छैन भन्ने प्रष्ट उल्लेख गरिएको छ । कसूर भएको मितिले ३ महिना नाघेपछि उजुर लाग्ने छैन । परम्परादेखि बली दिँदै आएको स्थलमा भने यसरी पशुबली गर्न छुट छ । यो परिच्छेदमा गाई, गोरु मार्न वा कुट्न नहुने, सार्वजनिक स्थलमा पशु वा पंक्षी मार्न नहुने व्यवस्था पनि छ ।

सार्वजनिक स्थल भन्नाले बाटो, सडक, पुल, चौर वा मानिस आवातजावत गर्ने ठाउँ भन्ने बुझाउँछ । गाउँमा मात्र नभएर शहरमा पनि पशु रोगी भए सडकमा छोडेर जिम्मेवारीबाट पन्छिने प्रचलन रहेको छ । दफा २७० मा कसैले कुनै सार्वजनिक लिखतमा प्रयोग भएको कुनै टिकट उप्काउन वा उप्काउने उद्योग गर्न नहुने भनिएको छ । यसरी टिकट उप्काउने वा उप्काउन लगाउनेलाई ६ महिनासम्म कैद वा ५ हजार रुपिँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ । कसैले पनि नाप्ने वा तौलने साधन नक्कली बनाउन वा चलन गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपिँयासम्म जरिवाना हुनेछ ।

यसरी यस्तो गलत कार्य गरे चलनचल्तीमा ल्याएको साधन र त्यसलाई बनाउने वा मर्मत गर्ने औजारसमेत जफत हुनेछ । बजारमा गुणस्तरीय सामान नपाइएको र परिणाम पनि सही नभएको गुनासो आइरहेका बेला यस्तो कानुन नै बनाएर कारवाही गर्न लागिएको हो ।

दफा १९५ मा लापरवाहीपूर्ण काम गरी वा हेलचेक्रयाँई गरी कुटपिट गर्न वा अंगभंग वा अन्य चोट पु¥याउन नहुने भनिएको छ । लापरवाहीपूर्ण काम गरी अंगभंग भएमा २ वर्षसम्म कैद वा २० हजार रुपिँयासम्म जरिवाना वा दुवै सजाय र अन्य किसिमको चोट पुगेको रहेछ भने १ वर्षसम्म कैद वा १० हजार रुपिँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

हेलचेक्रयाँई गरी कसूर गरेको रहेछ भने ६ महिनासम्म कैद वा ५ हजार रुपिँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ । नियम १९७ मा कसैले कुनै कसूर गर्न सजिलो पार्ने नियतले अरुलाई बेहोस् तुल्याउने, लठ्याउने वा अस्वस्थ्य पार्ने पदार्थ खुवाउन वा अन्य कुनै प्रकारले सेवन गराउन वा कुनै प्रकारले बेहोस् गराए गर्ने वा गराउनेलाई १ वर्षसम्म कैद र १० हजार रुपिँयासम्म जरिवाना हुनेछ । कुनै राष्ट्रसेवकलाई निजले कानून बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक लगाउन वा गर्न नपर्ने वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिए त्यस्तो व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपिँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

शपथ लिएको व्यक्तिले झुट्टा कुरा व्यक्त गर्न हुँदैन । नियम ८० मा लेखिएको छ ‘अधिकारप्राप्त अधिकारीसमक्ष साँचो कुरा व्यक्त गर्ने कानूनी कर्तव्य भएको वा शपथ लिएको व्यक्तिले वा कानूनबमोजिम शपथ लिई सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो हैसियतमा झुट्टा कुरा व्यक्त गर्न हुँदैन ।’ यस्तो कसूर गर्ने व्यक्तिलाई २ वर्षसम्म कैद वा २० हजार रुपिँयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ आगामी भदौ १ गतेदेखि लागू हुँदैछ । दोस्रो संविधानसभाको विधायन समितिले यी ऐन बनाएर संसद्बाट पास गरेको थियो ।

मुलुकी फौजदारी कार्यविधि (संहिता) को संयोजक तत्कालीन सांसद् लक्ष्मणलाल कर्ण, मुलुकी देवानी (संहिता) को संयोजक राधेश्याम अधिकारी, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयनको संयोजक रामनारायण बिडारी र मुलुकी देवानी कार्यविधिको संयोजक रेवतीरमण भण्डारी रहनुभएको थियो । ५ जना संयोजक नै कानुनी पृष्ठभूमिका हुनुहुन्थ्यो । भण्डारीबाहेक सबै अहिले पनि सांसद् हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्