बुटवल उप–महानगरपालिको साढे ४३ करोडमा आधुनिक भवन बन्ने



यमलाल भुसाल, बुटवल ।
बुटवल उप–महानगरपालिका कार्यालयलाई स्थानीय सरकारको आधुनिक भवनका रुपमा निर्माण गरिने भएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले एक समारोहका बीच शुक्रबार उक्त कार्यालय भवनको शिलन्यास गर्नुभएको छ । त्यसक्रममा उहाँले बुटवलको बुद्धकालिन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो ।

आधुनिक भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्दै उहाँले निर्माण कार्यहरुमा नागरिकहरुको पनि निगरानी र खबरदारी जरुरी रहेको बताउनु भयो ।
सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढनुपर्ने पौडेलको सुझाव थियो । लुम्बिनी र बुद्धबल्लीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासका लागि जुट्न जरुरी रहेको उहाँको भनाइ थियो । अहिले सरकारले समाजवादको वस्तुगत आधार तयार पार्नेगरी काम गरिरहेको पनि बताउनुभयो ।

बुटवल उप–महानगरपालिकाले करिब तीन विघा जग्गामा गुरुयोजना बनाएर अत्याधुनिक कार्यालय भवन निर्माणको काम सुरु गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलबासीको संकल्प अनुसार आफुहरु आवधिक र दीर्घकालिन महत्वका काममा केन्द्रित रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले बुटवलको विकासमा सबैसंग हातेमालो गरिने बताउनुभयो ।

हाल भवन रहेकासमेतको जग्गामा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लकमा भवनहरु निर्माण गर्ने गरि गुरुयोजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले जानकारी दिनुभयो । शुक्रबार शिलन्यास भएको भवन प्रमुख अर्थात् ‘ए ब्लक’ हो । बेसमेनसहित चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ ५२ पैसा रहेको योजना प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

तर, निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवति जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पाँच सय ७२ रुपैयाँ ८४ पैसामा आगामी ०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको इन्जिनियर गौतम रौनियारले जानकारी दिनुभएको छ । उक्त भवनमा रहेको अन्डरग्राउण्डमा एक सय छ वटा मोटरसाइकल, ३५ वटा कारलाई पार्किङ गर्न मिल्ने छ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा दुई अलग–अलग स्थानमा लिफ्ट र दुई वटै सिंढीहरु रहने ईन्जिनियर रौनियारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्