गोदार डान्स कम्पिटिसन गराउँदै



नृत्य निर्देशक महेश गोदारले एसईईका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थासमेत गर्दै डान्स कम्पिटिसन गराउने भएका छन्। गोदार आफ्नो नृत्य प्रशिक्षणशाला बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीबाट एसईई डान्स कम्पिटिसन–२०१८ गर्न लागेका हुन्।

यसको अन्तिम स्पर्धाका लागि १६ जना प्रतिस्पर्धी छानिएका छन्। अन्तिम स्पर्धाका लागि छात्रतर्फ न्यु भिजन एकेडेमीका प्रवेश खड्का, श्री ज्ञानोदय माविका अनुराज शाक्य, समता शिक्षा निकेतनका ईश्वर लामा, दावन चिल्ड्रेन इङलिस स्कुलका विवेक थापा मगर र महेन्द्र सेकेन्डरी स्कुलका सुरेन्द्र सेढाई छानिएका छन्। त्यसैगरी छात्रातर्फ प्राक्सिस इन्टरनेसनल स्कुलकी सरिता सिग्देल, एकता जेम्स एकेडेमीकी सारा दर्नाल, जोन एकेडेमीकी स्वस्थानी तामाङ, डेफोडिएल पब्लिक स्कुलकी सुदीक्षा दाहाल, जुगल इङलिस मिडियम एकेडेमीकी मनिता चौलागाईं, डायमन्ड एकेडेमीकी समृद्वि पाण्डे, श्रीकुमारी सेकेन्डरी स्कुलकी दीपिका तामाङ, इस्ट पोल हायर सेकेन्डरी स्कुलकी स्वस्तिका बस्नेत, त्रिभुवन हाइयर सेकेन्डरी स्कुलकी स्वेता श्रेष्ठ, कञ्चनजंंघा एकेडेमीकी अन्जना गुरुङ र माण्डु एकेडेमीकी मनीषा खाति रहेका छन्।

आगामी असार २३ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धाका लागि देशभरबाट ५ सयभन्दा बढीले भाग लिएको र तीमध्येबाट मेगा राउन्डका लागि ३४ जना छानिएको गोदारले बताए। मेगा राउन्डको निर्णायकमा छमछमी सिजन–२ साजन तामाङ, छमछमी सिजन–३ विजेता सरोज प्रजा र नृत्य निर्देशक प्रेम श्रेष्ठ रहेका थिए भने अन्तिम प्रतिस्पर्धामा छमछमी सिजन–१ का अनुजा अग्रवाल पनि हुनेछन्।


कार्यक्रमको कन्सेप्ट डाइरेक्टर तथा मुख्य निर्णायक डान्स कोरियोग्राफर महेश गोदार हुन्। प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपिया“ पुरस्कार प्रदान गरिने गोदारले जानकारी गराए। प्रतियोगिताका विजयी ११ जनालाई कक्षा १२ सम्म तथा २ जनालाई ब्याचलरसम्म गरी कुल १३ जनालाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको पनि उनले जानकारी गराए। उत्कृष्ट ५ जनाले राष्ट्रिय नाचघरमा ६ महिना नृत्य प्रशिक्षणमा छात्रवृत्ति पाउने बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका सञ्चालकसमेत रहेका महेश गोदारले बताए।

प्रतिक्रिया दिनुहोस्