ब्राजिलको अग्निपरीक्षा



समूह ‘ई’ अन्तर्गत बिहीबार आफ्नो दोस्रो खेलमा दक्षिण अमेरिकी मुलक ब्राजिलले मध्य अमेरिकी राष्ट्र कोस्टारिकाको सामना गर्दैछ। पहिलो खेलमा स्विजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेर १ अंक जोडेको ब्राजिलका लागि कोस्टारिकाविरुद्धको खेल महत्वपूर्ण बनेको छ।

४० वर्ष यता विश्वकपको पहिलो खेलमा बराबरीमा रोकिएको भन्दै ५ पटकको विश्व विजेता ब्राजिलको अलोचना भइरहेको छ। उक्त आलोचनालाई चिर्न र छैटौं पटक विश्वकपको उपाधि जित्ने अभियानलाई बलियो बनाउन प्रशिक्षक टिटेले कडा प्रशिक्षण गराएका छन्। हालको फिफा वरियतामा ब्राजिल दोस्रो स्थानमा छ भने कोस्टारिका २३औं स्थानमा छ।

तर जारी विश्वकपमा वरियतामा पछि परेका टिमले बलिया टिमलाई हम्मे हम्मे पारिरहेका छन्। कमजोर मानिएका टोलीले कडा चुनौती दिइरहेका पछिल्ला केही खेलबाट छर्लंग छ। जुन कोस्टारिकाले पनि ब्राजिलविरुद्ध नगर्ला भन्न सकिन्न। समूहको पहिलो खेलमा पनि स्विजरल्यान्डको प्रदर्शनले यो पुष्टि भइसकेको छ। गत फेब्रुअरीमा दाहिने खुट्टामा चोट बोकेका ब्राजिलका नेयमार अहिले पनि पूर्ण फिट हुन सकेका छैनन्। उनले स्विजरल्यान्डविरुद्ध निराशाजनक प्रर्दशन गरेका थिए। मंगलबार प्रशिक्षण सत्रबाट दुखाइ महसुस गर्दै बाहिरिएका नेयमार बुधबार भने ट्रेनिङमा सहभागी भएका थिए। प्रशिक्षण सत्रबाट बाहिरिएपछि उनले कोस्टारिकाविरुद्ध खेल्नेमा आशंका व्यक्त गरिएको थियो। तर ब्राजिल फुटबल संघले भने नयेमार कोस्टारिकाविरुद्धको खेलमा मैदानमा उत्रने स्पष्ट पारिसकेको छ।

गत विश्वकपमा नेयमारमा भर परेको ब्राजिलले उसको अनुपस्थितिमा जर्मनीस“ग सेमिफाइनलमा लज्जास्पद पराजय भोगेको थियो। यसपटक भने नेयमारमा नै पुरै भर नपरे पनि ब्राजिलियन टिममा अग्रपंक्तिका खेलाडीका बीचमा समन्वय आवश्यक छ। अग्रपंक्तिमा ग्राबियल जेसस ब्राजिलका अर्का प्रतिभावान युवा खेलाडी हुन्। उनले ब्राजिलबाट १६ खेल खेल्दै ९ गोल गरिसकेका छन्।

स्टार खेलाडीले भरिएको ब्राजिलियन टोलीका मिडफिल्डर फिलिपे काउन्टिहोले पनि पहिलो खेलमा उत्कृष्ट गोल गरेका थिए। विपक्षी टिमका डिफेन्सलाई तोड्न मुस्किल परेको अवस्थामा उनले लामो दुरीबाट गरेको गोल स¥हानीय थियो। यस्तै पाउलिन्हो, विलियन, कासेमिरो जस्ता मिडफिल्डरले कोस्टारिकाको रक्षापंक्तिको अग्निपरीक्षा लिनेछन्। ब्राजिलको सम्भावित रणनीति ४–३–३ हुनेछ।

कोस्टारिकालाई जितको आवश्यक
यस्तै समूहको पहिलो खेलमा सर्बियासँग १–० ले पराजित भएपछि प्रतियोगितामा रहिरहन कोस्टारिकालाई दोस्रो खेलमा जितको नतिजा आवश्यक छ। विश्वकप छनोट चरणमा बलियो अमेरिकालाई ४–० ले हराएको जास अब ब्राजिलविरुद्धको खेलमा पनि पस्कन जरुरी छ। कप्तान ब्रायन रुइज कोस्टारिकाका उत्कृष्ट मिडफिल्डर हुन्। यस्तै फरवार्ड मार्कोस र मिडफिल्डर क्रिश्चियन बोलानोस टिमका महत्वपूर्ण सदस्य हुन्।

आर्सेनलका पूर्व विन्गर जोएल केपबेल ती खेलाडी हुन्, जसले तीव्र गतिमा सन्तुलित खेल्न सक्छन्। यदि कोस्टारिकाको यी चारै जना खेलाडीको समन्वय भएमा ब्राजिलविरुद्ध सनसनीपूर्ण नतिजा निकाल्न नसक्ला भन्न सकिन्न। यति मात्र होइन, ब्राजिलबाट महत्वपूर्ण अंक खोस्न कोस्टारिकाको डिफेन्स चुस्त हुन पनि जरुरी छ। कोस्टारिकाको सम्भावित रणनीति ५–४–१ हुनेछ।

प्रतिक्रिया दिनुहोस्