प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनाललाई ज्यान मार्ने धम्की



काठमाडौँ । पत्रकार रवि लामिछाने प्रकरणमा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनाललाई ज्यान मार्ने धम्की आएको छ । खनाललाई +६१४२३०५९६६ नम्बरबाट ज्यान मार्ने धम्की आएको हो । खनालले सामाजिक सञ्जाल मार्फत आफूलाई धम्की आएको कुरा सार्वजनिक गरेका छन । उनले धम्कीप्रति प्रशासनको पनि ध्यानाकर्षण गराएका छन ।

उनले भनेका छन ‘रवि लामिछानेको हवला दिँदै +६१४२३०५९६६ बाट मार्ने धम्की दिने मान्छे को होला ? उजूरी पर्यो काउन्सिलले आचारसंहिताअनुसार कारबाही अगाडि बढायो । रविसँग उजूरीकर्ताले भनेअनुसार के कसो भएको हो भनेर लिखित जवाफ मागियो । भएको यत्ति हो । रविले संयमपूर्वक आफ्नो कुरा राख्नुको सट्टा धम्कीपूर्ण पत्र पठाउनुभयो ।

त्यत्रो चर्चित मान्छेले फेसबुकमा द्वन्द्व बढाउने गरी लेख्नुभयो । यो राग उहाँले नै बढाउनुभयो । काउन्सिलले सयौँ रविलाई पत्र लेखेको छ आचारसंहिताअनुसार । रविका विरुद्ध काउन्सिलले स्वअनुगमन गरेको पनि हैन, उजूरी हालेको पनि छैन ।

सोधेकै विषयलाई पहाड बनाएर जनमत विभाजित हुन जरुरी छैन । हामीले अफिसियलबाहेक व्यक्तिगत कुरा लेखेका पनि थिएनौँ, मार्छु भन्ने धम्की आएपछि आम जानकारीका लागि यति लेखेका हौँ । प्रहरी प्रशासनको पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्