वैकल्पिक विमानस्थल चाहियो



वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्ने क्षमता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छ । तर, अहिले वार्षिक ७५ लाख यात्रुको व्यवस्थापन गर्दै आएको छ । यात्रुको चाप हरेक १५ वर्षमा दोब्बर हुने गरेको तथ्यांक छ । विदेशी पर्यटकको वृद्धिदर चालू आर्थिक वर्षकै रफ्तारमा हुने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप अबको १० वर्षमै दोब्बर हुने अवस्था छ ।

एकमात्रै विमानस्थलमा आन्तरिक उडानको चाप पनि त्यत्तिकै छ । मुलुकका प्रायः सबै मुख्य शहरहरूमा त्रिभुवन विमानस्थलबाटै उडान गर्नुपर्ने बाध्यता छ ।

जसका कारण त्रिभुवन विमानस्थलमा हवाई ट्राफिकको समस्या देखिएको छ । यो समस्या समाधान गर्ने एकमात्रै विकल्प भनेको काठमाडौं उपत्यका आसपासमा अर्को विमानस्थल बनाउने र त्यहीँबाट आन्तरिक उडान भर्ने हो । आन्तरिक उडानका लागि विकल्पको व्यवस्था गर्ने हो भने त्रिभुवन विमानस्थलको हवाई ट्राफिकको समस्या धेरै हदसम्म समाधान हुनेछ । यसका लागि विज्ञहरूले डेढ दशकअघि नै सरकारलाई सुझाव दिएका थिए । काभ्रे जिल्लाको नागिडाँडा, ठूलीचौर र चिसापानी क्षेत्रको अध्ययन गरिएको थियो । तर, सरकारले खासै चासो नलिएका कारण काम अघि बढ्न सकिरहेको छैन ।

त्रिभुवन विमानस्थलको विकल्पमा नजिकै अर्को विमानथल नहुँदा कस्तो समस्या आइपर्दो रहेछ भन्ने कुरा तीन वर्षअघि विनाशकारी भूकम्प आउँदा मुलुकले बेहोरिसकेको छ । प्राकृतिक विपत्ति आइपरेको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि विमानस्थल नै सबैभन्दा उपयुक्त माध्यम हो । राजधानी काठमाडौं उपत्यकाको जनसंख्या ४० लाख पुगिसकेको अवस्थामा विमानस्थलको विकल्प एउटा होइन, दुईवटा हुनुपर्छ । यस विषयमा ध्यान जाओस् ।

– रवि श्रेष्ठ, काठमाडौं
– कर्ण अवस्थी, ललितपुर

प्रतिक्रिया दिनुहोस्