‘सभामुख उपसभामुख फेर्ने बहसको विषय नै होइन’



नरेन्द्र केसी, घोराही, दाङ
सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख एउटै दलको भएकाले परिवर्तन गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको मतमा बहस हुननसक्ने बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र दाङ पुग्नुभएका महराले नेपाल पत्रकार महासंघ दाङले गरेको पत्रकार भेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको थियो । ‘हामी उम्मेदवार हुँदा कुनै दलका सदस्य थियौं तर पदमा निर्वाचित भइसकेपछि पार्टीको जिम्मेवारी मात्र होइन, साधारण सदस्यतासमेत परित्याग गरिसकेका छौं’– उहाँले भन्नुभयो– ‘आम नागरिकको हैसियतमा हामी सभामुख र उपभामुखको जिम्मेवारीमा छौं, अब सभामुख र उपसभामुख कुन दलको भन्ने छलफलको बिषय नै होइन ।’

उहाँले संघीयता कार्यान्वायनमा देखिएको अलमल बढीमा एक दुइ बर्षभित्र अन्त्य हुने बताउनुभयो ।संघीयता संविधानतः कार्यान्वायनमा आए पनि केही ब्यवहारिक कठिनाइ देखिएको भन्दै उहाँले आवश्यक सबै कानून बनाएर संघीयता कार्यान्वायनको अलमल सके जति चाँडो अन्त्य गर्ने बताउनुभयो ।

‘अहिले पर्याप्त कानूनको अभावमा संघ, प्रदेश र स्थानीय तहको अधिकारबारे अन्योल देखिएको छ’– उहाँले भन्नुभयो– ‘यसले संघीयता कार्यान्वायनमा समेत अलमल देखिएको छ, संविधानअनुसार ऐन बनाएर संघीयताको पूर्ण कार्यान्वायन गर्नु अहिलेको कार्याभार हो ।’ स्थानीय तहको संरचना गत बर्षदेखि नै कामकाजमा आए पनि प्रदेश संरचना यो बर्षदेखि मात्र कामकाजका आएकाले पनि केही अलमलजस्तो देखिएको तर यो धेरै दिन नरहने उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा उहाँले बजेटले संघीयता कार्यान्वायनको दिशा दिन खोजेको बताउनुभयो । सांसदहरुले बजेटको विरोध गरिरहेको बेला उहाँले बजेटको आकार र रकममा बहस हुनु स्वाभाविक भए पनि नीतिगतरुपमा यसले संघीयता कार्यान्वायनको आधार दिएको बताउनुभयो । बजेट पारित भइनसकेकाले यो संशोधन पनि हुनसक्ने उहाँले बताउनुभयो ।

अहिले सरकारले राष्ट्रियरुपमा आत्मनिर्भरता र अन्तर्राष्ट्रियरुपमा सन्तुलित सम्बन्ध कायम गर्न खोजेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्रीको भारत र चीन भ्रमणले यसका लागि आधार तयार पारेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित सम्बन्ध कायम गरेर सहयोग भित्र्याउने र त्यसलाई जनताको समृद्धिसँग जोडेर लैजाने राज्यको नीति भएको बताउनुभयो ।

दाङ उपत्यकाको उत्तरपूर्वी गाउँहरु पर्यटन विकासका दृष्टिले महत्वपूर्ण रहेको औल्याउँदै उहाँले अब मदन भण्डारी राजमार्गलाई पर्यटन प्रवर्धनसँग जोड्नुपर्ने बताउनुभयो । अब हरेक पालिका केन्द्रबाट वडा केन्द्रसम्म सडक कालोपत्रे गर्ने गरी स्थानीय तहहरुले योजना बनाउनुपर्ने उहाँले बताउनुयभयो । गाउँमा राम्रो सडक, सञ्चार र विद्युत पुगेर मात्र विकास नहुने उल्लेख गर्दै सभामुख महराले त्यसलाई प्रयोग गर्नसक्ने जनताको आयस्तर पनि हुनुपर्ने र त्यसका लागि हरेक गाउँमा उत्पादनका अभियान चलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्