रवि लामेछानेलाई पेशागत मर्यादामा रहेर काम गर्न आग्रह



काठमाडौं। (नेस)
विवादमा पर्दै आएका रवि लामेछानेलाई पेशागत मर्यादामा रहेर काम गर्न प्रेस काउन्सिल नेपालले निर्देशन दिएको छ । काउन्सीलद्वारा बिहीबार सार्वजनिक महत्वको प्रेस विज्ञप्ती जारी गरी यस्तो निर्देशन दिएको हो ।

काउन्सिलका अनुसार विगत ४ वर्षदेखि नेपालको अध्यागमन कानुन, श्रम कानुन, प्रेस कानुन उल्लंघन गर्दै आउनुभएका रवि लामिछानेमाथि आवश्यक कारबाही गरियोस् भनी केहि महिनाअघि दुईवटा उजुरी परेको थियो । सर्वसाधारणबाट परेका ती उजुरीबारे छानवीन गर्ने क्रममा सोधिएको विषयलाई लिएर लामिछानेले सामाजिक सञ्जालमार्फत् अशिष्ट, अपुष्ट र आपत्तिजनक टिप्पणीहरु पोष्ट गरेपछि काउन्सिलले उहाँको नेपाल बसाई र यहाँ रहँदा काम गर्ने वैधतासम्बन्धमा आधिकारिक निकायसँग जानकारी माग गरेको थियो ।

उजुरीमाथि छानबिन गर्ने क्रममा यही असार ६ गते लामीछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धी निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट बिहीबार काउन्सिलमा प्राप्त भएको काउन्सीलका सहप्रशासकीय अधिकृत एवम् सूचना अधिकारी दीपक खनालको नामबाट विहीबार जारी उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तीमा थप भनिएको छ,–‘ न्यूज २४ मा कार्यरत रहँदाका बखत उहाँद्वारा प्रसारित कार्यक्रमबारे परेका दुईवटा उजुरीको छानबिनका क्रममा २०७४ चैत २३ गते स्पष्टीकरण सोधिंदा उहाँले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको झूठो दाबीसहित प्रेस काउन्सिललाई २०७५ बैशाख ६ गते लिखित जवाफ दिनुभएको थियो ।’

नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपालले उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पु¥याउन निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्