कांग्रेस सभापति भेला एक दिन थप



हेटौंडा, (नेस)
तीन दिनका लागि तोकिएको नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय हेटौंडा भेला एक दिन लम्बिने भएको छ ।

मंगलबार उद्घाटन समारोहपछि टुंगिएको भेलामा बुधबार र बिहीबार बन्दसत्रमा ७७ जिल्लाका सभापतिले आफ्ना धारणामात्र भ्याएपछि छलफल र जवाफका लागि समय नपुगेका कारण भेला एक दिनपछि शुक्रबारसम्मका लागि थपिएको हो ।

केन्द्रीय समितिले एक दिन समय थपेर आज शुक्रबार गते भेला समापन गर्दैछ । भेलाको समापनमा जिल्ला सभापतिहरुबाट प्रस्तावना वा धारणापत्र र केन्द्रीय समितिले घोषणापत्र जारी गर्ने तयारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सभापतिले प्रस्तावना वा धारणापत्रका लागि तयारी गरिरहेको र केन्द्रीय समितिले छलफलपछि घोषणापत्र जारी गर्नेछ ।

केही जिल्ला सभापति र पौडेल पक्षले हेटौंडा घोषणापत्र जारी गर्दै पार्टी नेतृत्वलाई आत्मालोचना गर्न लगाउने र हारको जिम्मेवारी लिन लगाएरमात्र छाड्ने मनस्थितिमा रहेको एक जिल्ला सभापतिले बताए ।

जिल्ला सभापतिहरुको भेलामा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना हुने क्रम बिहीबार पनि जारी रह्यो । भेलालाई निष्कर्षविहीन बनाउने संस्थापन पक्षको तयारी रहेको जिल्ला सभापतिहरुले आरोप लगाए । उनीहरुले भेलाको निष्कर्षलाई मार्गदर्शन बनाउने भन्दा पनि औपचारिक जमघटमा सीमित गर्ने प्रयास भएको भन्दै आक्रोश पोखेका छन् ।

कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला उद्घाटन समारोहमा शीर्ष नेताहरुबाट सुरु भएको नेतृत्वपंक्ति एकवद्ध हुनुपर्ने सवालले नै प्राथमिकता पाएको छ । बिहीबारसम्म सबै ७७ जिल्ला सभापतिले आफ्ना धारणा राख्दा अधिकांशले केन्द्रीय नेतृत्वपंक्ति एकवद्ध भए पार्टी बलियो हुने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्