जया पल्टिपलमा योग शिविर



काठमाडौं, (नेस)
चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जया पल्टिपल क्याम्पस गोकर्णेश्वरको प्रांगणमा बिहीबार योग शिविर सञ्चालन गरिएको छ ।

क्याम्पस प्रमुख भवानीप्रसाद पौडेलका अनुसार, दिवसको अवसरमा मन्त्रीहरु, नगरपालिका प्रमुख, विशिष्ट व्यक्तिका साथै सर्वसाधारणको समेत सहभागितामा कार्यक्रम गरिएको हो ।

पौडेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ, बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलगायत अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहेको जनाउनुभयो । क्याम्पसको विशेष पहलमा बोस्टर मिडिया र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कानुनमन्त्री तामाङले योग र साधनाको माध्यमबाट मानिसमा सचेतना वृद्धि गर्न सकिने र यो ज्ञान समाजका लागि उपयोगी हुने बताउनुभयो ।

बन तथा वातावरणमन्त्री बस्नेतले मानिसको जिवनलाई स्वस्थ्य र जागरुक बनाउन योग र ध्यानको आवश्यकता रहेकोमा जोड दिनुभयो । क्याम्पस प्रमुख पौडेलले शैक्षिक ज्ञानले मात्र मानिसलाई स्वस्थ्य र स्फूर्ति नराख्ने भएकाले उसले हरेक क्रियाकलापका माध्यमबाट सिर्जनशील रहनुपर्छ भन्ने मान्यताले शिविरको आयोजना गरिएको बताउनुभयो । क्याम्पसले केही समयअघि योग शिविरसमेत सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्