बेलिब्रिजको ५० प्रतिशत काम सम्पन्न



नेपाल समाचारपत्र, लमजुङ
लमजुङबाट हिमाली जिल्ला मनाङ जोड्न म्यार्दी बेलिब्रिजको ५० प्रतिशत काम पुरा भएको छ । बेसीशहर– चामे सडक खण्डको लमजुङ मनाङको सीमा क्षेत्रमा पर्ने म्यार्दी खोलामा सो पुल निर्माण गरिएको हो ।

लमजुङ र मनाङको सीमा क्षेत्रमा निर्माण भइरहेको सो बेलिब्रिजको ५० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी ग्याल्बा–क्याराभान जेभीले बताएको छ । उक्त पुल २ करोड ५ लाख रुपैयाँको लागतमा निर्माण हुने अनुमान गरिएको ग्याल्बा क्याराबान जेबी कम्पनीका साइड इन्चार्ज सवइन्जिनियर हरिकुमार श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार उक्त पुलको निर्माणको क्रममा हालसम्म बायाँ भागको पिलर, साईटमा स्टिलको जाली र पुलमा विछ्याउँने स्टिल फलाम लगायतको काम सकिएको छ । दायाँ भागको पिलरको जग हाल्ने काम शुरु भएको र पिलर निमार्ण हुने वित्तिकै बेली ब्रिज पुलको ढलान गर्ने र स्टिलको फलाम राख्ने काम गरिने श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार उक्त पुलको लम्बाई २४.३८ मिटर र चौडाई ११ मिटरको रहेको छ ।

पुल निर्माण भइरहेको म्यार्दीखोला लमजुङको सदरमुकाम बेसीसहरबाट ३५ र मनाङको सदरमुकाम चामेबाट ३० किमिको दूरीमा पर्छ । नेपाली सेनाले बनाएको काठेपुल २०७२ जेठमा भाँचिएको थियो । त्यसपछि डिभिजन कार्यालयले राखेको स्टिल गार्डर ब्रिज असार ३१ मा आएको बाढीले बगाएपछि आवागमन सुचारु राख्न त्यहाँ काठेपुल निर्माण गरी काम चलाइएको थियो ।

तत्काल ४ मिटर (सिंगल लेन) को पुल निर्माण गरिने भएको हो । तत्कालका लागि सिंगल लेनको पुल निर्माण भएपनि बेंसीसहर– मनाङ आवागमन सहज हुनेछ श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार उक्त पुल जेठ मसान्तमै सक्ने सम्झौता गरेको हो तर चैत–वैशाखमा पानी परेर ढुवानीमा समस्या सिर्जिएको, प्राविधिक डिजाइनभन्दा फरक चट्टान निस्केको, विस्फोटक पदार्थको मेसिन सञ्चालनमा समस्या जस्ता कारणले निर्माण अवधि लम्बिन गयो । तर पनि असार मसान्त भित्र निर्माण कार्य सम्पन्न हुनेछ ।

यही असारभित्रै सक्ने योजनासहित म्याद थपको निवेदन डिभिजन सडक कार्यालय दमौलीले जनाएको छ । डिभिजन प्रमुख भानु जोशीले भन्नुभयो, ‘निर्माण कम्पनीले असार मसान्तभित्र सक्ने भनेको छ । काम धमाधम हुने चरणमा छ ।’

बेसीसहर–चामे सडकमा २०६९ सालबाट सेवा सुरु भएको हो । उक्त सडकमा दैनिक ९० भन्दा बढि सवारी साधनहरू आवतजावत गर्ने गर्दछन् । बेंसीसहर– चामे सडकको दुरी ६५ किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्