मन्दिरको संरक्षण गर्ने अभियान



वीरगन्ज (नेस)
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा रहेको पारसनाथ बाबाको मन्दिर संरक्षणका लागि अहिले अभियान संचालन गरिएको छ।

अतिक्रमणको चपेटामा परेर मठ अव्यवस्थित र जीर्ण बनेपछि गाउँपालिका अध्यक्ष प्रदीपकुमार जैसवालको अगुवाईमा अभियान संचालन गरिएको हो । यही पारसनाथ मठको नामबाट नै पर्सा जिल्लाको नामकरण गरिएको हो । सो गाउँपालिका ५ महुवनमा पर्ने पुरानो मन्दिरको संरक्षणका लागि गाउँपालिकाकै बजेटमा धमाधम काम भइरहेको छ । ऐतिहासिक मन्दिर संरक्षणका लागि गाउँपालिकाले ५५ लाख रुपैयाँ छुट्टयाएको स्थानीय शिक्षक श्रीराम गिरीले जानकारी दिए ।

गाउँपालिकाले ५५ लाख रुपैयाँ छुट्याएर चारैतिरबाट पर्खाल लगाउने काम गरिरहेको छ ।यसअघि जयसवालले स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएसँगै ऐतिहासिक दरबार र मठको सेरोफेरोमा रहेको सार्वजनिक पोखरीको डिल अतिक्रमण गरी निर्माण गरिएको घर जग्गा खाली गराउने अभियान चलाएका थिए ।त्यसबखत मन्दिर वरपरको जमिन अतिक्रमण गरेर बनाइएका दुई दर्जन पक्की, खपडा र फुसको घर स्काभेटर लगाएर भत्काइएको थियो ।

जिल्लाकै नमुना पर्यटकीय स्थलको रूपमा संरक्षण, प्रवद्र्धन र विकास गर्ने योजना रहेको अध्यक्ष जयसवाल बताउँछन्। ‘पर्सा जिल्लाको नामाकरण यही पारसनाथ मन्दिरको नामबाट भएको हो । मन्दिर एकदमै जीर्ण अवस्थामा थियो’ उनले भने ‘म गाउँपालिकाको अध्यक्ष भएपछि चारैतिरबाट पर्खाल लगाउने काम शुरु गरेको छु ।

गाउँपालिका अध्यक्ष जयसवालले मन्दिरलाई सोभायमान र दर्शनीय बनाउने बाचा गरेको पुजारी मिश्रले बताए । अझै पनि मन्दिरको दायाँबायाँ सयौं विगाहा जमिन अतिक्रमणमा परेको र अतिक्रमणपनि हटाइने बचन उनले दिएको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्