प्रदेश १ को बजेट मन्त्रीका जिल्लामा केन्द्रित



विराटनगर (नेस)
एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बजेट विनियोजनमा विभेद भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा पेश भएको विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै उनीहरुले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसदहरुले मन्त्रीहरुले आफ्नो जिल्लामा बजेट केन्द्रीत गरेको र कांग्रेस निकटका सांसदले पेश गरेको योजना कटाइएको आरोप लगाए । साथै उनीहरुले प्रदेशले आफ्नो संरचना नबनाएसम्म बजेट कार्यान्वयनमा समस्या हुनेतर्फ सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

संसदमा बोल्दै कांग्रेसका सांसद सूयर्माराज राईले स्थानीय तहमार्फत बजेट कार्यान्वयनमा समस्या हुने बताउनु भयो । यस्तै कांग्रेसकै सांसद हिमाल कार्कीले कनिका छरेजस्तोगरी बजेट ल्याएको र कुनै ठोस योजना नभएको आरोप लगाउनु भयो । उहाँले बजेटले झापा, मोरङ, सुनसरी, भोजपूर र पाँचथरमा केन्द्रीत गरिँदा अन्य जिल्लालाई विभेद भएको पनि बताउनु भयो ।

यस्तै सांसद लिला सुब्बाले आफूले दिएको योजनाहरु रातो किताबमा नपारिएको भन्दै असुन्तुष्टि व्यक्त गर्नुभयो । रातो कितामा भएका कतिपय योजनाहरु साना तिना पनि समावेश गरिएको र पार्नुपर्ने कतिपय योजना नपारिएकोले आवश्यक संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो । प्रदेशसभामा बोल्दै सत्ता पक्षका सांसदहरुले पनि बजेट कार्यान्वयनमा चुनौति हुने बताएका छन् ।

सत्तापक्षका सांसदहरु कूलप्रसाद साम्बा, विजय विश्वास, शौभाग्यवती राई, उमिता विश्वकर्मा लगायतले विनियोजन विधेयकको समर्थन गरेका थिए । अन्य सांसदहरु जयराम यादव, प्रतापप्रसाद हाङ्बाङ, शिवनारायण गनगाईलगायतले भने कनिका छरेजस्तो सानोतिनो कार्यक्रममा बजेट हालिएको भन्दै विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्