चिनियाँ रेल पक्का, पूर्वाधार सहित अन्य दर्जन सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं
चीनको केरुङहुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण सहित अन्य परियोजनामा चिनियाँ सहयोग सम्बन्धी विषयमा सम्झौता भएको छ । विहीवार द्धिपक्षिय सम्झौता भएपछि निकै चर्चाको विषय बनेको केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग जोडिने बलियो आधार तय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी ली खछ्याङ्ग नेतृत्वको प्रतिनिधि मण्डलस्तरीय वार्तामा रेलमार्ग सहित अन्य पूर्वाधार निर्माणबारेको सम्झौता भएको हो । विद्युतीय कार्गो रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उहाँका चिनियाँ समकक्षी ली सियोपिङले हस्ताक्षर गर्नु भएको हो ।

प्रधानमन्त्री ओली र उहाँका समकक्षी लिको उपस्थितीमा चिनियाँ ग्रेट हल अफ द पिपलमा आयोजित विशेष कार्यक्रममा दुवै मुलुक वीच यस्तो सहमति भएको हो । यस्तो सम्झौतासँगै तिब्बतको सिगात्सेसम्म आएको विद्युतीय र कार्गो रेलमार्ग नेपाल जोड्न आगामी दुई महिनाभित्र पूर्व संभाव्यता अध्ययन र डेढ वषभित्रैमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने बताइएको छ । रेलमार्ग निर्माणकार्य शुरु भएको ५ वर्षभित्रमा चिनियाँ रेल काठमाडौं जोडिने लक्ष्य लिइएको छ ।

सडक सञ्जाल नपुगेका मुलुकका उत्तरी भेगका बिकट वस्तीमा खाद्यान्न ढुवानीका साथ ‘तिब्बेतियन हाइवे’ प्रयोग गर्नेबारेमा पनि सम्झौता भएको छ । सो हाइवे मार्फत पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिको दार्चुलासम्मका विभिन्न नाका जोडिने बताइएको छ ।

३ वर्ष अघिको भूकम्प र त्यस लगत्तैको वर्षाले पूर्ण रुपमा अवरुद्ध रहेको तातोपानी नाका पुन सुचारु गर्न चीनले तातोपानी सहित अर्को महत्वपूर्ण नाका रसुवागढीमा मितेरी पुल निर्माण गर्ने भएको छ । दुवै मैत्री पुल निर्माण सम्झौतामा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ उप–विदेशमन्त्री कङबीच हस्ताक्षर भएको हो ।

ऊर्जा विकासका लागि आर्थिक तथा प्राविधिक सहयोगसँगै साझेदारीसम्बन्धी सम्झौतामा ऊर्जामन्त्री वर्षमान पुन र चिनियाँ उप–विदेशमन्त्री कङबीच हस्ताक्षर भएको छ । त्यसैगरी द्धिपक्षिय सांस्कृतिक र जन–जनको सम्बन्ध, पर्यटकीय गतिविधी, सम्बन्धलाई अझ निकट र प्रभावकारी बनाउन प्रवुद्ध समुह गठन गर्नेबारेमा सम्झौता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै मुलुकका पत्रकार र विद्यार्थी एक अर्को मुलुकमा थप ओहोर–दोहोर बढाउने बारेमा समेत दुवै मुलुक सहमत भएका छन् ।

राष्ट्रिय योजना आयोग र चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगबीच उत्पादन क्षमतासम्बन्धी लगानी र सहयोगसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको बताइएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङले यसबारेको सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो ।

चिनियाँ सहयोगमा नेपालमा निर्माण भइरहेका र आगामी दिनमा निर्माण हुने परियोजना र सहयोग तथा सहकार्यका लागि परराष्ट्र मन्त्रालय स्तरमा छुट्टै संयन्त्र स्थापना गर्ने विषयमा पनि सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई लक्षित गर्दै गत आइतवारको मन्त्री परिषद् बैठकले संयन्त्र निर्माण गर्ने निर्णय गरेको थियो ।

भूकम्पपछिको पुन निर्माणमा चासो लिदै आएको चीनले नुवाकोट दरबार पुन निर्माणसँगै रसुवा, दोलखा, सिन्धुपाल्चोकका सरकारी विद्यालय भवन पुन निर्माण र सुदृढिकरणमा सहयोग गर्नेबारेमा पनि सम्झौता भएको छ । नेपाल भ्रमण वर्ष २०२०लाई प्रवद्र्धन गर्न विहीवार बेजिङमा ‘नेपाल–चीन मैत्री दौड’ आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री ओली सहित चिनियाँ विशिष्ठ अधिकारीहरु पनि सहभागी रहनु भएको वेजिङ स्थित नेपाली दूतावासले जनाएको छ ।

यसै वीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन सरकारले सम्मान गारथ (गार्ड अफ अनर) प्रदान गरेको छ । ग्रेट हल अफ पिपलमा आयोजित सो सम्मानमा ओलीका समकक्षी ली समेत उपस्थित हुनुहुन्थ्यो । ओलीले विहीवार चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसु सहित अन्य नेतासँग राजनैतिक भेटवार्ता गर्नु भएको थियो ।

बेजिङमा भएको महत्वपूर्ण सम्झौता र उच्च स्तरिय भेटवार्ता पछि प्रधानमन्त्री ओली सहितको टोली आज शुक्रबार तिब्बतको ल्हासा प्रस्थान गर्नेछ । नेपाली टोलीले तिब्बतका विभिन्न परियोजनाको स्थलगत अवलोकन गर्ने छ भने प्रधानमन्त्री ओली त्यहाँ पनि उच्च स्तरिय भेटवार्तामा व्यस्त रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्