ऐतिहासीक दोलखा सहरमा अझै भुकम्पको भग्नावशेष



चिरञ्जीवी मास्के, दोलखा
कुनै बेला छुट्टै राज्य रहेको दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ मा पर्ने ऐतिहासीक दोलखा सहरमा भुकम्प पछिको पुर्ननिर्माणको काम १५ प्रतिशत पनि सकिएको छैन् ।

दोलखा सहर पुग्दा अहिले पनि विनाशकारी भुकम्पले क्षति पुगेको भग्नावशेषहरु देख्न सकिन्छ ।

किन पुर्ननिर्माणको काम अघि बढ्न सकेन त दोलखा सहरमा ? भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विराज श्रेष्ठ भन्छन् – बहुस्वामित्वको समस्या र ऐतिहासीक ढङ्गले पुर्ननिर्माण गर्न नगरपालिकाले निश्चित मापदण्ड दिन नसक्दा पुर्ननिर्माणमा ढिलाई भै रहेको छ । झण्डै ५ सय घर धुरी रहेको दोलखा सहरका ५०/६० वटा घरहरु पुर्ननिर्माण भएका छन् । बाँकी घरहरु भने अझै पनि पुर्ननिर्माण हुन सकेका छैनन् ।

बाईसे चौविसे राज्यकालमा छुट्टै दोलखा राज्य रहेको ऐतिहासीक सहरलाई सांस्कृतिक सम्पदाको सहरको रुपमा पुर्ननिर्माण गर्ने नगरपालिकाको योजना रहेको भएपनि विनाशकारी भुकम्प गएको तीन बर्ष वितिसक्दा समेत निश्चित मापदण्ड निर्धारण गर्न नसक्दा पुर्ननिर्माणमा ढिलाई भएको स्थानियले गुनासो गरेका छन् ।

काठमाडौँमा बस्ने दोलखाका प्रवुद्ध व्यक्तिहरुले ठूला ठूला योजना सुनाउने तर काम गर्न आफु पनि अग्रसर नहुने र अरुलाई पनि गर्न नदिने प्रवृत्तिले पनि समस्या निम्ताएको स्थानिय गुनासो गर्छन् ।

नगरपालिकाको योजना अनुसार सहरका प्रत्यक घर एकै डिजाईनको इट्टा टाँस्ने, कलात्मक झ्याल ढोका राख्ने भएपनि सो अनुसार कार्ययोजना बनाएर काम गर्न सकेको देखिदैन । नगरपालिकाले निश्चित कार्ययोजना पनि नदिने र आफ्नो ढङ्गले घर निर्माण गर्दा पनि पास नगरिदिने समस्याले स्थानिय पीडित बनेको वडा नम्बर २ का वडा अध्यक्ष एवं दोलखा सहरका वासिन्दा विराज श्रेष्ठको गुनासो छ ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी नगरपालिकाको तर्फबाट दोलखालाई सांस्कृतिक सम्पदाको सहर बनाउन आवश्यक सहयोग र समन्वय भै रहेको उल्लेख गर्दै दोलखामा देखिएको बहुस्वामित्वको समस्या समाधानको लागि केन्द्रिय सरकारलेनै निश्चित कार्ययोजना निर्माण गर्नु पर्ने बताउछन् ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय दोलखाका प्रमुख एकराज अधिकारी ऐतिहासीक दोलखा सहरलाई सांस्कृतिक सम्पदाको सहर बनाउने कुरामा वडा र नगरपालिका बीच समन्वय नहुदा समस्या भै रहेको बताउछन् ।

दोलखालाई सांस्कृतिक सम्पदाको सहर बनाउन आफुले आवश्यक पहल गरेर सहरी विकास विभाग मार्फत कार्ययोजना तयार गरी काम सुरु गर्न लागेको अधिकारीले बताए । दोलखा मुलुककै महत्वपूर्ण पुरातात्विक सहर मध्यमा पर्दछ त्यसैले यसको पुर्ननिर्माण पुरातात्विक महत्वलाई कायम राख्ने गरी सुरु गर्नुपर्छ– अधिकारीले भने ।

तर कार्ययोजना तयारीमा ढिला भएकोले केहि घरहरु बनिसकेको र यसले समस्या हुनसक्ने अधिकारीको भनाई छ । अब तत्कालै वडा र नगरपालिकाले समन्वय गरेर स्थानियको पूर्ण सहभागितामा काम अगाडि बढाउनु पर्ने अधिकारी बताउछन् । त्यसको लागि आफुले समन्वय गर्ने अधिकारीको भनाई छ ।

दोलखा जिल्लामा गुनासो सुनवाई समेत गरेर ६२ हजार ८ सय ३३ परिवारको नाम लाभग्राहीको सूचिमा रहेकोमा ६० हजार ६ सय १२ परिवारले अनुदान सम्झौता गरेका छन् ।

जसमा पहिलो किस्ता ५८ हजार १ सय ६८, दोस्रो किस्ता ४३ हजार ३ सय २ र तेस्रो किस्ता २३ हजार ९ सय ९८ परिवारले लिएको भुकम्पीय आवास पुर्ननिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्