तीनवटा संग्रहालय स्थानीय निकायद्वारा सञ्चालन हुने



ईश्वरराज ढकाल, काठमाडौं
विश्वसम्पदा सुचीमा सुचिकृत उपत्यकाका हनुमानढोका, पाटन र भक्तपुर संग्रहालय आगामी साउन १ गतेदेखि स्थानीय निकायद्वारा संचालन गरिने भएको छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले केन्द्रीय र क्षेत्रिय रुपमा संचालित संग्रहालय विभाग र जिल्लास्थित संग्रहालय स्थानीय निकायको मातहत रहने व्यवस्था भएको जानकारी दिनुभयो ।

उहाका अनुसार नारायणहिटी, छाउनी, पाटनको धातुकला र जनजाति संग्रहालय विभागको मातहतमा संचालन हुनेछ । हाल भएका सबै संग्रहालय विभागले नै संचालन गर्दै आएको थियो । हनुमानढोका संग्रहालयभित्र रहेको राष्ट्रिय ढुकुटी भने कस्को मातहतमा रहने भन्नेबारे खुलेको छैन ।

सुर्खेत, डडेल्धुरा, पोखरा र कपिलवस्तुमा रहेको क्षेत्रीय संग्रहालय विभागको मातहतमा रहने छ । हाल हनुमानढोका, पाटन र भक्तपुर दरबार संग्रहालय विकास समितिअन्तर्गत सञ्चालित छन् । विकास समितिअन्तर्गत सञ्चालित सबै संग्रहालय स्थानीय तह मातहत चलाउने निर्णय भए पनि कर्मचारी संरचनाको विषयमा अन्योल कायम छ । मल्लकालदेखिको हनुमानढोका दरबार संग्रहालयभित्र रहेको पुरानो ढुकुटीको विषय सरकारले ठोस निर्णय नगरेसम्म सो संग्रहालय स्थानीय निकायको मातहतमा दिन नहुने देखिएको छ ।

करोडौ रुपियाको सुन, चादी लगायत बहुमुल्य सम्पत्ती रहेको सो ढुकुटी विभागकै मातहतमा रहनुपर्ने विभागका उच्च अधिकारीको धारणा छ । विभागका महानिर्देशक दाहालले यो विषयमा मन्त्रालयस्तरबाट निर्णय हुन बाकी रहेको धारणा राख्नुभयो । शुरुमा पाटन संग्रहालयलाई विकास समिति बनाइएको थियो । लगत्तै २०६७ पुस १२ मा हनुमानढोका दरबार हेरचाह अड्डालाई विकास समिति बनाइएको थियो ।

विश्वसम्पदा क्षेत्रभित्र पर्ने तीनवटै दरबार संग्रहालय स्थानीय तहबाट संचालन गर्ने भएपछि त्यसको विषयमा युनेस्कोले कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा कुनै निर्णय भएको छैन । २०७२ सालको शक्तीसाली भुकम्पले काठमाडौ उपत्यकामा १ हजार १ सय ४ वटा सम्पदामा क्षति पुगेको थियो । तथ्याङकअनुसार काठमाडौमा ५ सय ६४, ललितपुरमा २ सय ८४ र भक्तपुरमा २ सय ५६ सम्पदा क्षतिग्रस्त भएका थिए । ती मध्य अधिकांस सम्पदा तीन वटा दरबार संग्रहालयभित्र पर्छ ।

प्रतिक्रिया दिनुहोस्