ग्यारेन्टी दिएको ३ वर्षअघि नै बल्न छोड्यो सोलार बत्ती



लमजुङ ।
लमजुङको सुन्दरबजारमा नगरपालिका क्षेत्रमा जडान गरिएका सोलार बत्ती दुईवर्ष नहुँदै बल्न छोडेको छ ।

ती बत्तीको पाँच वर्षको ग्यारेन्टी भएको बताईन्छ । आब २०७२÷७३ को अन्तिम समयमा सुन्दरबजार नगरपालिका– ६, ७ र ८ मा ती बत्ती जडान गरिएको थियो ।

प्रति बत्ती १ लाख रुपैयाँका दरले ती बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार वातावरण मन्त्रालयको ६० प्रतिशत अनुदान, उपभोक्ताको १५ प्रतिशत र नगरपालिकाले २५ प्रतिशत सो कार्यमा लगानी गरी ३२ वटा सोलार बत्ती जडान गरिएको सुन्दरबजार नगरपालिकाका नासु डिलु तामाङले बताउनु भयो ।

उहाँका अनुसार सो कार्यमा टोलटोलमा उपभोक्ता समिति, नगरपालिका र ठेकेदार कम्पनीका वीचमा त्रिपक्षीय सम्झौता गरेर गरिएको थियो । तर सो सम्झौतापत्र नगरपालिकामा फेला पर्न सकेको छैन तामाङले बताउनु भयो ।

सोलार प्यानलको २५ वर्षको र सोलार बत्तीको पाँच वर्षको ग्यारेन्टी रहेको स्रोतको भनाई छ । उक्त सोलार बत्ती जडान गर्ने कार्य दीप लाइट इनर्जी काठमाडौँले गरेको जानकारीमा आएको छ ।

यसबारेमा सुन्दरबजार नगरपालिकामा सम्पर्क गर्दा गुणस्तरको काम नगरेको जडान गर्ने समयमै हामीले फेला परेको पनि हो र त्यो बेलामा नियतले होइन, झुक्किएर हो भन्दै केही सच्चाउने काम पनि गर्न लगाएका हौँ नगरपालिकाका मेयर जनक मिश्रले भन्नुभयो ।

उहाँका अनुसार सोलार बत्तीको गुणस्तरमा प्रश्न आएको हुँदा चालु आवमा त्यस्तो योजना नै राखिएन अब आउँदो वर्ष के गर्ने भन्ने बारेमा छलफल गर्दैछौँ । त्यो काम चित्त बुझेको छैन, मैले त्यो कम्पनीलाई भनेको हुँ हेर्न पनि आयो, तर मर्मतका काम अघि बढाएर हामीले फलोअप गर्न भ्याइएको छैन मिश्र बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्