नखोस मेरा यादहरू सार्वजनिक



दोलखा, (नेस)। सानै उमेरबाट साहित्यमा जमेका भुवन शिवाकोटी चौघरेले दोलखा सदरमुकाम चरिकोटमा नखोस मेरा यादहरू नामक आधुनिक गीति एल्बम सार्वजनिक गरेर आफ्नो अर्को प्रतिभाको परिचय दिएका छन्।

पीडा भरिएको आधुनिक गीत एल्बमले बजारमा ठूलै संघर्ष गर्नुपर्ने भए पनि हरेक उमेर समूहका मानिसको मन मष्तिस्कमा छुट्टै छाप छोड्न सक्नेमा आफू विश्वस्त रहेको एल्बमका गीतकार, संगीतकार एवं गायक भुवन शिवाकोटी चौघरेले बताए।

एल्बममा शीर्ष गीत नखोस मेरा यादहरूका साथमा नरोई बस्छु भन्थें म त, तिमीलाई जति माया, किन हुन्छ त्यसै उज्यालो, मेरो अनिदो रात बोलका गीत संगृहित छन्।

एल्बमको लोकार्पण दोलखा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले गरेका थिए। विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको समन्वयमा भएको कार्यक्रममा नगरप्रमुख भरत केसी, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, विष्णु लक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, अध्यक्ष विष्णु सुवेदी र गीतकार भुवन शिवाकोटी चौघरेले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्