फ्रान्सविरुद्ध पेरू



फ्रान्सले ३६ वर्षपछि विश्वकपमा छनोट भएका दक्षिण अमेरिकी मुलुक पेरू सँग समूह सी को दोस्रो म्याच बिहीबार खेल्दैछ । पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध संघर्षपूर्ण २–१ को जित निकालेको फ्रान्सका लागि पेरू तुलनात्मक कमजोर टोली हो ।

पहिलो खेलबाट ३ अंक जोडिसकेको फ्रान्सका लागि दोस्रो खेल जित्नु भनेको अन्तिम १६ को ढोका खोल्नु सरह हो । फ्रान्सका पाउल पोग्बा त्यस्ता खेलाडी हुन्, जसले विपक्षीसँग एक्लै खेल्ने क्षमता राख्छन् । एथ्लेटिको मेड्रिडबाट यो सिजन यूरोपा लिग जितेका एन्टोनी ग्रिजम्यान पनि उत्कृष्ट लयमा छन् ।


हेड टू हेड:
यी दुईबीच एक पटक मात्र म्याच भएको छ । सन् १९८२ को अप्रिल २८ भएको अन्तर्राष्ट्रीय मैत्रीपूर्ण खेलमा पेरूले फ्रान्सलाई १–० ले पराजित गरेको थियो ।


यता पहिलो खेलमा पेनाल्टीको अवसरमा गोल गर्न नसकेपछि पेरुलाई डेनमार्कले १–० ले पराजित गरेको थियो । उक्त खेलमा बल पोजीसन राम्रो बनाए पनि स्ट्राइकरहरुमा फिनिशिंगको अभाव देखिएको थियो । पेरुका सर्वाधिक गोलकर्ता गुरेरोको अनुपस्थितिमा जेफर्सन परफानलाई विश्वकपमा आक्रमणको जिम्मेवारी दिइए पनि पहिलो खेलमा उनको प्रदर्शन फिका रह्यो ।

यस्तै मिडफील्डमा क्रिस्टन क्यूबाले पनि धेरै बल होल्ड गर्ने बानी सुधार्न आवश्यक छ । यदि स्ट्राइकरहरुले फिनिशिंगमा सुधार गर्ने हो भने फ्रान्सविरुद्ध पेरुले सनसनी नतिजा निकाल्न नसक्ला भन्न सकिन्न ।

यदि पेरू समूहको दोस्रो खेलमा फ्रान्ससँग हारेमा जारी विश्वकपबाट बाहिरिने निश्चित छ । फिफा वरियताको ११औं स्थानको पेरूको सम्भावित रणनिति ४–२–३–१ हुनेछ भने फिफा वरियताको सातौं स्थानको फ्रान्सको सम्भावित रणनिति ४–३–३ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्