म्याच प्रिभ्यु: अर्जेन्टिनाविरुद्ध क्रोएसिया



यस खेललाई लियोनेल मेसी भर्सेज लुका मोड्रिचको रुपमा पनि हेरिएको छ । त्यस्तै बार्सिलोनामा मेसीसँगै खेल्ने इभान राकटिच पनि मेसीविरुद्ध कस्तो खेल्छन् कौतुहलताको विषय बनेको छ । क्रोएसियामा मोड्रिच र राकिटिचका अलावा इभान पेरिसिक, मारिओ मान्डजुकिक जस्ता सशक्त खेलाडी रहेका छन् ।

लुका मोड्रिच रियल मेड्रिडका उत्कृष्ट मिडफिल्डर हुन् । यस्तै बार्सिलोनाका मिडफिल्डर इभान राकिटिच पनि क्रोएसियाका महत्वपूर्ण हतियार हुन् । मोड्रिच र राकिटिकले क्रोएसियाको मिडफिल्ड सम्हाल्नेछन् । स्ट्राइकर मारियो मान्डजुकिकले उत्कष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ ।

जारी विश्वकपमा समूहको पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएर क्रोएसियाले आफ्नो क्षमता प्रस्तुत गरिसकेको छ । त्यसअघि क्राऐसियाले विश्वकप छनौट चरणमा पनि राम्रो खेल प्रदर्शन गर्दै आफु बलियो टिम भएको प्रमाणित गरेको थियो ।

क्रोएसियाको लागि सन् १९९८ को विश्वकपमा अर्जेन्टिनासँग १–० ले हारेको बदला लिने अवसर समेत जुरेको छ ।

समूहको पहिलो खेलमा आइसल्यान्डविरुद्ध गरेको प्रदर्शनलाई विश्लेषण गर्ने हो भने पनि अर्जेन्टीनाको लागि क्रोएसियाविरुद्धको खेल महत्वपूर्ण बनेको छ । पहिलो खेलबाट अर्जेन्टीनाले एक मात्र अंक जोडेको छ । पछिल्ला तथ्यांकलाई आधार मान्ने हो भने क्रोएसिया आइसल्याण्ड भन्दा बलियो टोली समेत हो ।

पहिलो खेलमा जर्ज साम्पोलीको प्रशिक्षणमा रहेको अर्जेन्टीनाले नवप्रवेसी टोली आइसल्याण्डविरुद्ध गरेको प्रदर्शनलाई सन्तोष मान्न सकिन्न । अर्जेन्टीनाले रक्षात्मक रणनीतिको आइसल्यान्डसँग १–१ गोलको बराबरीमै चित्त बुझाउनु परेको थियो ।


हेड टू हेड:

यी दुईले अहिलेसम्म ४ म्याच एक अर्काविरुद्ध खेलेका छन् । जसमध्ये अर्जेन्टीनाले २ पटक जित र समान एक–एक पटक बराबरी र हार बहोरेका छन् ।
४ जून १९९४, अर्जेन्टिना ०–० क्रोएसिया (मैत्रीपूर्ण खेल)
२६ जून १९९८, अर्जेन्टिना १–० क्रोएसिया (विश्वकप १९९८)
१ मार्च २००६, अर्जेन्टिना २–३ क्रोएसिया (मैत्रीपूर्ण खेल)
१२ नोभेम्बर २०१४, अर्जेन्टिना २–१ क्रोएसिया (मैत्रीपूर्ण खेल)


उक्त खेलमा लियोनेल मेसीलाई कडा मार्कमा राखेको आइसल्याण्डको डिफेन्सलाई भेड्न अर्जेन्टीनाका स्ट्राइकरहरु असफल भए । पहिलो खेलमा पेनाल्टीसमेत गोलमा परिणत नगरेका कारण क्रोएसियाविरुद्धको खेलमा मेसीलाई मानसिक दवाब बढ्न सक्नेछ ।

यदि क्रोएसियाविरुद्धको खेलमा अर्जेन्टीना टोलीले मेसीमा मात्र भर परेमा भने सुखद नतिजाबाट विमुख हुन सक्नेछ । समूहको पहिलो खेलमा झै मेसी कडा निगरानीमा परेमा एन्जेल डी मारिया, गोन्जालो हिग्वेन, सर्जियो अगुएरो, पाउल डिबाला जस्ता अन्य स्ट्राइकरहरु चल्न जरुरी छ ।

छनौट चरणमा संघर्षपूर्ण यात्रा तय गरेर रसिया पुगेको अर्जेन्टिनाले आफ्नो खेलमा व्यापक सुधार गर्नु पर्ने देखिन्छ । स्टार खेलाडीहरुले भरिएको अर्जेन्टिनाको पछिल्ला प्रदर्शनले दर्शकहरुलाई निकै निराश बनाएको थियो । लियोनेल मेसीमाथि भर पर्दा टिमका अन्य खेलाडीहरुको प्रदर्शन ओझेलमा पनि परेको छ । आफ्नो क्षमता अनुसार प्रदर्शन गरे

अर्जेन्टिना यस समूहबाट सजिलै दोस्रो चरणमा पुग्न सक्छ अन्यथा ‘सरप्राइज फ्याक्टर’ को शिकार अर्जेन्टिना हुन सक्दछ । अर्जेन्टिना हाल विश्व वरियताको पाँचौ स्थानमा रहेको छ । क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनाको सम्भावित रणनिति ४–३–३ हुन सक्नेछ । यस्तै विश्व वरियताको १८औं स्थानमा रहेको क्रोएसियाको सम्भावित रणनिति भने ४–२–३–१ हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्