रसियाद्वारा इजिप्ट पराजित



मस्को, (एजेन्सी)
आयोजक राष्ट्र रसियाले विश्वकप फुटबलमा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा इजिप्टलाई पराजित गरेको छ ।

समुह ‘ए’ मा रहेको रसियाले समुह चरणको दोस्रो खेलमा इजिप्टलाई ३–१ गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलबिहीन बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चार गोल भएको थियो । खेलको ४७औं मिनेटमा इजिप्टका कप्तान अहमद फाथीले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेपछि रसियाले अग्रता लिएको थियो ।

त्यसपछि रसियाले लगातार दुई गोल ग¥यो । खेलको ५९औं मिनेटमा रसियाका डेनिस चेरिसेभले गोल गर्दै अग्रता दोब्बर पारे । जारी विश्वकपमा उनको यो तेस्रो गोल समेत हो । त्यसको तीन मिनेटपछि नै आर्टिम डेजुबा गोल गरेर रसियालाई ३–० को अग्रता दिलाएका थिए ।

यता स्टार स्ट्राइकर मोहम्मद सलाहलाई डिबक्स भित्र रसियाली खेलाडीले फाउल गरेको भिडियो रेफ्रीले देखाएपछि इजिप्टले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ७३ औं मिनेटमा सलाहले नै गोलमा परिणत गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

विश्वकपमा ३ पटक छनोट भएको इजिप्टका लागि उनले पहिलो विश्वकप गोल समेत गरेका हुन् । त्यसपछि इजिप्टले थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेन र रसिया विजयी भयो ।

समूह चरणको पहिलो खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५–० गोलले हराएको थियो । यता इजिप्ट भने उरुग्वेसँग १–० गोलले पराजित भएको थियो । दुई खेलमा जित दर्ता गरेको रसिया ६ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा छ । तीन अंक जोडेको उरुग्वेले बुधबार साउदी अरेबियासँग खेल्नेछ । दुई खेलमा हार व्यहोरेको इजिप्ट भने अंक बिहिन छ ।

प्रतिक्रिया दिनुहोस्