उरुग्वे नकआउट चरणमा



मस्को, (एजेन्सी)
दुई पटकको विश्व विजेता उरुग्वेले रुसमा जारी विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

बुधबार राति भएको खेलमा लुइस सुआरेजको एक गोल नै उरुग्वेको लागि जित हात पार्न पर्याप्त भएको थियो । उनको निर्णायक गोलमा उरुग्वेले साउदी अरेबियालाई १–० गोलअन्तरले हराएको थियो । सुआरेज तीन विश्वकपमा गोल गर्ने पहिलो उरुग्वेली खेलाडी समेत बनेका छन् । यो उनको राष्ट्रका लागि १ सयौं खेल पनि हो ।

सुआरेजले २२ औं मिनेटमा गोल गरेका थिए । कर्नर बल क्लियर गर्न आएका साउदी गोलकिपर मोहम्मद अलोवाइस अगाडि बढेका थिए । तर बल उनले क्लियर गर्न सकेन र सुआरेजको खुट्टामा बल ड्रप भएको थियो । उनले करिब ६ यार्डबाट गोल गरेका थिए ।
रुस र उरुग्वे ६÷६ अंकका साथ समूह चरण पार गरेका छन् ।

रुसले १९८६ पछि पहिलो पटक नकआउट चरणमा स्थान बनाएको छ । त्यस्तै उरुग्वेले गत विश्वकपको निरासालाई मेटाएको छ । अन्य दुई टोली इजिप्ट र साउदी अरेबिया अंकविहीन बने । यी दुई र मोरोक्को गरी तीन टोली अन्तिम खेल खेल्न अघि नै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्