पोर्चुगल अन्तिम १६ मा पुग्ने तरखरमा



मस्को, (एजेन्सी)

क्रिष्टियानो रोनाल्डोले शुरुआतमै गरेको गोल निर्णायक साबित भएपछि पोर्चुगलले समूह बी मा पहिलो जित हात पारेको छ ।

रुसमा जारी विश्वकप अन्तर्गत बुधबार लुजनीकी स्टेडियममा भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजित गरेको हो । रोनाल्डोले खेलको चौथो मिनेटमा नै उक्त गोल गर्न सफल भएका थिए ।


पोर्चुगल १ मोरोक्को ०

क्रिस्टियानो रोनाल्डो ४’


मोरक्कोविरुद्ध गोल गरेसँगै रोनाल्डोले प्रतियोगितामा आफ्नो गोल संख्या ४ पु¥याएको छ । गोल्डेन बुटको उपाधि दावेदारतिर समेत रहेका रोनाल्डोले स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक पुरा गरेका थिए । रोनाल्डोले जोवा माउटिन्होले प्रहार गरेको कर्नर बललाई हेडमार्फत गोल गरेका थिए। खेलमा मोरोक्कोले गोल फर्काउन भरमग्दुर प्रयास गरे पनि सफल हुन नसकेपछि हार देख्न बाध्य बने ।


—रोनाल्डो ८५ गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सदाबहार गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका छन् ।
—उनी गोलकर्ताको सूचीका शीर्ष खेलाडी इरानका अली दाइपछि दोस्रो स्थानमा रहेका छन् ।


जितसँगै पोर्चुगलले अन्तिम १६ पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पोर्चुगलको २ खेलबाट ४ अंक भएको छ । पोर्चुगलले अब समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । उक्त खेलमा जित हात पारे पोर्चुगल अघिल्लो चरण प्रवेश गर्नेछ । लगातार दुई खेलमा हार बेहोरेको मोरक्को प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । जारी विश्वकपबाट बाहिरिनेमा मोरोक्को पहिलो टोली बनेको छ । मोरक्को पहिलो खेलमा इरानसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्