विवादपछि आप्रवासी रोक नितिमा परिवर्तन गर्न ट्रम्प तयार



वासिङटन (एजेन्सी)
आप्रवासीको प्रवेशमाथि रोक लगाउने नितिले अमेरिकामा राजनितिक बृत्तमा विवाद चर्काएकोछ ।

तर अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले आप्रवासीका बच्चालाई उनका मातापिताबाट अलग्ग राख्ने आफनो फैसलाको सही भएको बताएका छन् । देशमा अवैध रुपमा घुसपैठ गर्ने मातापितालाई जेल हुन्छ भने उनीहरुका बच्चालाई उनीहरुबाट अलग्ग राख्नु पर्ने हुन्छ, उनले बताए ।

यसअघि उनले एक ट्विटमा भनेका थिए– समस्याको जड डेमोक्र्याट्स हुन जसले देशमा कानुन ब्यवस्थाका बारेमा केहि सोचेको छैन र आप्रवासी संक्रमणका रुपमा फैलियोस भन्ने चाहेका छन् । उनीहरु आफना खराब नितिका कारण जित्न सक्दैन र आप्रवासीहरुलाई सम्भावित भोटबैंकका रुपमा हेर्छन् ।

त्यसपछिको अर्को एक ट्विटमा उनले लेख– देश भित्र अवैध रुपमा आउनेलाई हामीले रोक्नु पर्छ । देश भित्र आउने १२ हजार प्रवासी बच्चामा करिब दुई हजार मात्रै आफना अभिभावकसँग हुने गर्छ ।

अवैध आप्रवासीका बच्चालाई उनका मातापिताबाट अलग्ग गरिएका घटनापछि देशमा ट्रम्प प्रशासनको कडा आलोचना भइरहेको थियो । यसबीच अब राष्टपति ट्रम्पले आफु यस नियममा ठुलो परिवर्तनका लागि तयार रहेको बताएका छन् ।

यस विषयमा उसले चाँडैनै आफना रिपब्लिकन पार्टीका सदस्यहरुसँग बैठक पनि गर्नेछ । हालै मात्र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिुकाको सीमामा अवैध प्रवासिहरुको प्रवेश रोक्न कडा नियम लागु गरेका थिए ।

उक्त नियम अनुसार अवैध तरिकाको घुसपैठ गर्नेहरुमाथि आपराधिक मामिला दर्ता गरि उनीहरुलाई जेल हाल्नेछ । त्यसता आप्रवासीलाई उनीहरुका बच्चाहरुसँग पनि भेट्न दिइदैन र उनीहरुलाई अलग्ग राखिने छ ।

ती बच्चाहरुको रेखदेश अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्विसेजले गर्छ । यसअघि बिना आवश्यक कागजात पहिलो पटक सीमा पारी आउने आप्रवासीलाई अलातमा बोलाइने गरेको थियो । ट्रम्प प्रशासनका अनुसार समन पठाइएको भएपछि ती आप्रवासी कहिल्यै अदालतमा उपस्थित नहुने गरेको र त्यसै कारण उनीहरुमाथि सिधा आपराधिक मामिला दर्ता गर्ने नियम लागु गरिएको हो ।

आफना मातापितासँग अलग्गिएका केहि बालबालिकाका मार्मिक तस्वीर सन्चार माध्यममा आएपछि ट्रम्प प्रशासनको यस नियमलाई लिएर विवादपनि बढ्दै गएको हो । ती तस्वीरलाई हेरेर बच्चाका लागि बनेका ती केन्द्रको तुलना नाजी यातना सिविरसँग गरिएको छ ।

अमेरिकाका महान्यायधिवक्त जेफ सेसन्सले यस तुलनामाथि कडा आपत्ती जनाएको छ ।
उनले स्थितिलाई बढाइ चढाइ गर्ने काम भइरहेको र आफुले कानुन मात्र लागु गरेको बताए । नागरिकले उनको पक्षलाई पनि बुझ्ने अपेक्षा सेसन्सले बताए ।

अमेरिकी सरकारको आंकडा अनुसार मे ५ देखि जुन ९ सम्मको बीचमा २ हजार ३ सय ४२ आप्रवासीका बच्चा उनका मातापितासँग अलग्ग भइसकेका छन् ।

यसैबीच मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारा कासोले बच्चालाई उनका परिवारसँग अलग्ग गर्नु ‘क्रुर अमानविय ‘ भएको प्रतिक्रिया दिएका छन् । अमेरिकाको उक्त कदम निश्चित रुपमा मानवअधिकारको उलंघन भएको उनले बताए ।

अमेरिकी राष्टपति ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका सदस्यहरुमाथि उनको काममा बाधा हालेको आरोप लगाएको थियो । उनले आफनो ‘जिरो टोलरेन्स पलिसी‘ सही भएको बताउन्दै युरोपेली देशले लाखौं आप्रवासीलाई आश्रय दिएर ठुलो गल्ती गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्