कांग्रेस जिल्ला सभापति भेला: नेतृत्वको आलोचनामा समय खर्च



रोशन पराजुली
हेटौंडा । हेटौंडामा जारी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेलामा पार्टी सभापतिको समर्थन र विरोधका स्वरसहित केन्द्रीय नेता र भ्रातृ संगठनमा मुद्धाका विषयमा ध्यानाकर्षणका पत्रैपत्र प्रस्तुत भएका छन् । भेलामा बोल्ने जिल्ला सभापतिहरुले पार्टीलाई अगाडि बढाउने सुझावको साटो आफूहरुलाई अधिकार दिनुपर्ने जिकिर गरेका छन ।

पार्टी निकट नेपाल विद्यार्थी संघका ४ उपाध्यक्ष र महामन्त्रीले केन्द्रीय अधिवेशन गराउन माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षपत्र दिएका छन् । अधिवेशन जिल्ला तथा अन्य सबै तहमा गर्नुपर्ने भन्दै उनीहरुले सम्पूर्ण जिल्लाका सभापतिलाई उक्त वातावरण बनाउन आग्रह गरेका हुन् ।

उता, कांग्रेसका ८ केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई पत्र लेखी नयाँ संरचनाअनुसार तत्काल अधिवेशन गरी नेतृत्व चयनका विषयमा छलफल गराउन अनुरोध गरेका छन् । ती ८ केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पुनव्र्याख्या, सांगठनिक पुनर्संरचना र नेतृत्व परिवर्तनका विषयमा गम्भीर छलफल गर्न र प्रदेश र स्थानीय तहमा अधिवेशन माग गर्न भन्दै जिल्ला सभापतिहरुलाई आग्रह गरेका हुन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरुलाई पत्र लेख्दै पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, गाउँ/नगर, प्रदेश र संघ सबै तहमा सवल सरकार वा छाया सरकारको भूमिका खेल्नसक्ने नेतृत्व स्थापित गर्नु आवश्यक भएको भन्दै भेलामा विषय उठाउन अनुरोध गरेका हुन् ।

पार्टीको सैद्धान्तिक र सांगठनिक खाका कोर्न तत्काल महासमिति हुँदै महाधिवेशन प्रक्रिया अगाडि बढाउन जिल्ला सभापतिहरुको हेटौंडा भेलाले महत्वपूर्ण बाटो देखाउन सक्ने उनीहरुले विश्वास छ ।

प्राविधिक कारणले मात्र निर्वाचन नहारिएको भन्दै राजनीतिक विचार र सिद्धान्तले विजय प्राप्त गर्दैगर्दा राजनीतिक युद्ध जिते पनि चुनाबी लडाईं हारिएको तर्क पत्रमा उल्लेख छ । निर्वाचनपश्चात् वैशाख ११ गतेको केन्द्रीय कार्यसमितिको समिक्षा बैठकमा ७ केन्द्रीय सदस्यले निर्वाचनको विस्तृत समीक्षा गर्दै पार्टी पुनर्निर्माणका सन्दर्भमा प्रस्तावसहित ५१ पृष्ठ लामो प्रतिवेदन बहसका लागि पेश गरेका थिए ।

भेलामा बागलुङ सभापति दीपेन्द्रबहादुर थापा, लमजुङ सभापति भेषबहादुर पौडेल, इलामका सभापति हिमाल कर्माचार्य, चितवन सभापति जितनारायण श्रेष्ठ, दोलखा सभापति रुद्रबहादुर खड्का, रामेछाप सभापति लवश्री न्यौपाने, तेह्रथुम सभापति गोबिन्द ढुंगाना, रुकुम सभापति प्रेमप्रसाद ओली, कास्की सभापति कृष्ण केसी, कालीकोट सभापति हर्षबहादुर बम, बाजुरा सभापति कविराज पण्डित, भोजपुर सभापति नन्दमणि राईलगायत तीन दर्जन सभापतिहरुले आफ्ना धारणा राख्नुभएको छ । देशका सबै जिल्लाका कांग्रेस सभापतिको भेला मंगलबारदेखि हेटौंडामा जारी छ ।

‘पार्टी नेतृत्व तत्काल रुपान्तरण जरुरी’
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्व तत्काल रुपान्तरण हुन जरुरी रहेको बताएका छन् । अहिलेकै अवस्थामा भन्दा पनि अब रुपान्तरण भएरमात्र कांग्रेस अगाडि बढ्नसक्ने उनीहरुले बताएका हुन् ।

करिब ३५ जिल्लाका सभापतिले बोल्ने क्रममा पार्टी केन्द्रीय नेतृत्वदेखि जिल्ला र गाउँस्तरसम्म पनि रुपान्तरण हुनु जरुरी रहेको बताएको नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । बदलिएको राज्य पुनर्संरचनाअनुसार पार्टीको विधान बनाएर अगाडि बढ्न उनीहरुले सुझाव दिएका छन् ।

कांग्रेसमा अब देउवा र पौडेलको गुट भन्दा पनि एकतावद्ध भएर अगाडि बढ्न सभापतिले सुझाव दिएको प्रवक्ता शर्माले बताउनुभयो । जिल्लास्तरमा कांग्रेसलाई बलियो बनाउन लागि आफूहरुले भूमिका खेल्ने र केन्द्रमा नेतृत्वले पहल गर्न पार्टीलाई सुझाव दिएका छन् । पार्टी नेतृत्वले आत्मसमिक्षा गरेर अगाडि बढ्नुको बिकल्प नभएको उनीहरुको भनाइ छ ।

पार्टीभित्रका चुनौती सामना गर्न पार्टी एक ढिक्का भएर बाहिर निस्कन पनि सुझाव दिइएको प्रवक्ता शर्माले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्