नागरिकता लिनेमा पुरुषभन्दा महिला बढी



कपिलवस्तु, (नेस)
पछिल्लो समय नागरिकता लिनेमा पुरुषभन्दा महिलाको संख्या बढेको देखिन्छ । दशकअघि १०÷१५ प्रतिशत महिलाले मात्र नागरिकता बनाउने गरेकोमा अहिले महिलाहरुमा जागरुकता बढेको हो । इलाका प्रशासन कार्यालय चन्द्रौटाको पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा ५४ प्रतिशत महिलाले नागरिकता बनाएको देखिन्छ ।

मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुको पश्चिमी भेगमा अझैपनि अधिकांश महिला खुलेर बाहिर निस्केको देखिंदैन । तर प्रशासनको डाटाले नागरिकता लिने पुरुषको भन्दा महिलाको संख्या बढी भएको पाइएको छ । नयाँ आर्थिक वर्ष २०७५ को बैशाख र जेठमा ७सय ७० जनाले नागरिकता लिएका छन् । जसमध्ये नागरिकता लिने महिलाको संख्या ४सय ७० रहेको इलाका प्रशासन कार्यालय प्रमुख जगदीश अर्यालले बताउनुभयो ।

तथ्यांक अनुसार नागरिकता लिएका मध्ये मधेशी र मुस्लिम समुदायका महिलाहरुको संख्या सबैभन्दा बढी रहेको कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो । “पछिल्लो समय बुवाआमाको नागरिकता बिना सन्तानको जन्मदर्ता र नागरिकता नबन्ने प्रावधानअनुसार नागरिकता लिने महिला बढेका हुन्” –कार्यालय प्रमुख अर्यालले भन्नुभयो ।

अझै पनि नागरिकता, बिवाह दर्ता, जन्मदर्ता लगायतका प्रमाण बनाउनका लागि महिलाहरु आफै अंगुवाई गरेर आउन नसकेकोमा कार्यालय प्रमुख अर्यालले दु.ख ब्यक्त गर्नुभयो । महिलाहरुलाई सशक्त बनाउन परिवार, समाज तथा सरोकारवाला निकाएको सक्रिय सहभागिता हुन आवश्यक रहेको समेत उहाँले तर्क राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्