खानीखोलाका खयर तस्करी पक्राउ



मोतीराम तिमल्सिना, काभ्रे
निषेधित बन पैदावार खयर प्रजातिको अबैद्य रुपमा तस्करी गर्ने दुई जनालाई जिल्ला बन कार्यालयले पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले खानिखोला गाउँपालिकामा भएको तस्करीका बारेमा सार्वजनिक स्थानबाटै कारवाही गर्न निर्देशन दिएपछि बन कार्यालयले अनुसन्धान गरी तस्करीलाई पक्राउ गरेको हो ।

जिल्ला बन कार्यालयले इलाका बन कार्यालयका प्रमुख सहायक बन अधिकृत अशोक पराजुलीलाई अनुसन्धान अधिकृत तोकेको थियो । टोलीले ५२ वटा रुख काटिएको तथ्य फेला पारेको छ । जेठ ५ गते खानिखोला गाउँपालिका ५ सिक्रे दोभानमा ३ सय १३ गिण्डा खयर जातका काठहरु फेला पारेपछि अनुसन्धानलाई तिब्र बनाईएको थियो ।

२०९.७१ क्युफिट काठ बरामद भए पनि त्यति नै मात्रामा काठ विक्री भईसकेको अनुसन्धानबाट फेला परेको छ । खानिखोला गाउँपालिका ४ जगतथलीमा रहेको सार्वजनिक बनका ५० वटा रुख र नीजि आवादी भित्र रहेको २ वटा रुख काटिएको ठुटा पत्ता लागेको छ ।

हरेक वर्ष उक्त क्षेत्रबाट सयौ क्यु फिट काठ मकवानपुरको भोर्लेनी हुँदै तस्करी हुँदै आएको थियो । जिल्ला बन कार्यालयका कर्मचारी, स्थानीयहरुको समेत मिलमत्तोमा उक्त काठ तस्करी हुँदै आएको छ । यो पटक पनि स्थानीय जनप्रतिनिधिहरुको समेत मिलेमत्तो भएको भए पनि बन कार्यालयले अनुसन्धानका क्रममा दुई जनालाई मात्रै पक्राउ गरेको छ ।

स्थानीय भगतबहादुर गोलेको जमिनको दुईवटा रुख र उनकै सिमानामा रहेको सार्वजनिक जग्गाबाट काठ तस्करी भएको फेला परेको हो । तस्करी गर्नेमा मकवानपुर जिल्ला बाग्मती गाउँपालिका ५ भोर्लेनीका पञ्चविर रुम्बा रहेका छन् । मकवानपुर, सिन्धुली र काभ्रेको सिमानामा उक्त काठ लुकाई राखिएको अवस्थामा फेला परेको थियो । अनुसन्धान टोलीले जेष्ठ २७ गते उनिहरुलाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ ।

बन ऐन २०४९ को घ अनुसार बन क्षेत्रबाट बन पैदावार ओसारपसार तथा विक्री वितरण सम्वन्धी ब्यवस्थाले पक्राउ परेका मध्ये रुम्बालाई विगो बराबरको जरिवना र एक वर्ष सम्म कैदको ब्यवस्था छ । अनुसन्धान टोलीले उक्त काठमाडौ मुल्य २ लाख ७८ हजार रुपैया तोकेको छ । स्थानीय जनप्रतिनिधिहरुको समेत मिलेमत्तोमा भएको तस्करी नियन्त्रणका लागि स्थानीयहरुले पक्राउ परेकालाई कैदको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्