किसान कहिलेसम्म मर्कामा ?



झापाको शरणामतीका किसानहरूले आफूले उत्पादन गरेको दूध बिक्री नभएपछि सडकमा ल्याएर पोख्दै गरेको पीडादायक दृश्य अझै सेलाएको छैन ।

नेपाल बहुउद्देश्यीय सहकारी मेचीनगरद्वारा सञ्चालित डेरीले दूध नकिनेपछि किसानहरू उत्पादित दूध सडकमा पोख्न बाध्य भएका हुन् । यतिखेर वास्तवमा दूधले बजार नपाउने समस्या नहुनुपर्ने हो, किनभने चैतदेखि साउनसम्मको अवधिलाई दूधको ड्राई वा लिन सिजनका रूपमा मानिन्छ । यतिखेर दूधका उत्पादन नै कम भएका कारण भारतबाट पाउडर दूध आयात गरी सरकारी स्वामित्वका नेपाल दुग्ध विकास संस्थानदेखि निजी क्षेत्रका डेरी उद्योगहरूले पनि दूध उत्पादन गर्ने गरेका छन् ।

भदौदेखि हरियो घाँस पनि पलाउने, गाईभैंसी ब्याउनेलगायतका कारणले दूधको मूल सिजन शुरु हुन्छ । ड्राइ सिजनमा नै किसानले उत्पादन गरेको दूध सहकारी संस्थाले नकिनिदिएका कारण सडकमा ल्याएर पोख्नुपर्ने अवस्था आउनु भनेको पशुपालक किसानमाथि गरिएको खेलबाड नै हो ।

समस्या दक्षिणी झापाका दुग्ध उत्पादक कृषकहरूको मात्र होइन, देशभरिकै पशुपालक किसानहरूले बेलाबेलामा समान किसिमका समस्या झेल्दै आएका छन् । दुग्ध उत्पादक किसानहरू संगठित नभएको र उनीहरूको भन्दा निजी दुग्ध उत्पादक उद्योगहरूको बलियो लबिङ हुने गरेका कारण किसानका आवाज सधैँ ओझेलमा पर्ने गरेका छन् । विशेष गरी दूधको मूल्य निर्धारणमा किसानहरूले सदैव आफू अन्यायमा परेको गुनासो गर्ने गरेका छन् । दुग्ध उत्पादनको लागत बढ्दै जाँदासमेत दुग्ध विकास संस्थानमार्फत निर्धारण हुने दूधको मूल्यले किसानलाई लाभ नपुगेको उनीहरूको गुनासो छ ।

नेपालमा अझै पनि दुग्ध उत्पादन र खपत सर्वाधिक न्यून रहँदै आएको छ । विश्व खाद्य तथा कृषि संगठन (एफएओ) ले स्वस्थ्य रहन एकजना व्यक्तिले प्रतिवर्ष ९२ लिटर दूध पिउनुपर्ने मापदण्ड तय गरेको र सरकारले प्रत्येक नेपालीले एक वर्षमा ५७ लिटर दूध पिउन आवश्यक रहेको बताउने गरेको सन्दर्भमा नेपालका हकमा भने प्रतिव्यक्ति दुग्ध खपत योभन्दा पनि निकै कम छ ।

दूध भनेको केटाकेटी वा वृद्धवृद्धा अथवा बिमारीले मात्र पिउने हो भन्ने गलत मानसिकताले एकातिर जरो गाडेको छ भने अर्कातिर दूधका अन्य सहायक उत्पादनहरूको पनि उपभोग र बजारीकरण निकै कमजोर भएकाले दूधको खपत बढ्न नसकेको हो । ‘दूध बेच्नलाई घरघर पुग्नुपर्छ, तर रक्सी बेच्न कुनामा एउटा पसल थापे पुग्छ,’ भन्ने नयाँ भनाइ नै बन्न पुगेको छ । यसले नेपाली दुग्ध उत्पादक किसानको वास्तविक अवस्था दर्शाउँछ ।

स्वदेशका दुग्ध उत्पादक किसानहरूले उत्पादन गरेको दूधले नै सही ढंगले बजार र उचित मूल्य नपाइरहेको प्ररिप्रेक्ष्यमा सरकारका कृषिमन्त्री नै भारतीय दुग्ध उत्पादक कम्पनी अमूललाई नेपाल भित्र्याउन दत्तचित्त भएर लागेका खबरहरू पनि आएका छन् । विश्वकै सर्वाधिक दुग्ध संकलक र दुग्ध उत्पादन सहकारी संस्था अमूलद्वारा प्रवद्र्धित उक्त कम्पनी नेपाल भित्र्याउँदा यहाँका दुग्ध उत्पादक किसान र स्वदेशी उद्यमीहरूमा के–कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि गम्भीर अध्ययन गरिनु जरुरी छ ।

देशलाई आवश्यकता परेका क्षेत्रमा पुँजी र प्रविधि भित्र्याउनका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउनुपर्छ, तर कृषिसम्बन्धी उद्योग वा व्यवसायको संवेदनशीलतालाई ख्याल नगरी आँखा चिम्लेर दुग्ध क्षेत्रमा बहुराष्ट्रिय कम्पनी भित्र्याउने हो भने त्यसको प्रतिकूल प्रभाव पार्ने जोखिम छ ।
– अजश्वी सुनार, पुल्चोक, ललितपुर

प्रतिक्रिया दिनुहोस्