बीपी राजमार्गमा भार मापन गर्न यन्त्र जडान हुने



मधुसूदन रायमाझी, काठमाडौं
बीपी राजमार्गमा सवारी भार मापन यन्त्र जडान हुने भएको छ । साँघुरो, घुमाउरो सडकमा मापदण्ड भन्दा विपरीत सवारीसाधनले ओभरलोड बोक्न थालेपछि सरकारले सवारी भार मापन यन्त्र जडानको प्रक्रिया अगाडि बढाएको हो ।

सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । धुलिखेल–नेपालथोक सडक खण्ड निर्माण भएको १६ वर्ष पुगेको छ । अहिले उक्त सडक खण्डको अवस्था निकै अस्तव्यस्त बन्न पुगेको छ ।

सडक स्तरोन्नति र मर्मत कार्य भए पनि क्षमताभन्दा बढी भार भएका सवारी साधन ओहोर दोहोर हुँदा कालोपत्रे छ महिना पनि टिक्न गाह्रो हुने गरेको सडक विभागले बताएको छ । नेपालथोक–धुलिखेल सडख खण्ड दिनप्रतिदिन भत्किनुमा मुख्य कारण ओभरलोड भएका ट्रिपर सञ्चालन भएको निष्कर्ष सडक विभागको छ ।

जाइकाले दिएको रिपोर्टअनुसार सवारीको वजनसहित यस राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न मिल्दैन । अहिले सर्वोच्च अदालतले १० टनभन्दा माथिको सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश दिए पनि २० टनसम्मका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । सरकारले मापदण्ड लागू गरेपछि कुन सवारी साधनले कति भार बोक्छन् भन्ने मापन अहिलेसम्म हुन सकेको छैन् ।

जसका कारण मापदण्डविपरीत ओभरलोड भार लिएर हिँड्ने सवारी साधनमाथि कारबाही हुन सकेको छैन् । सडकलाई व्यवस्थित बनाउन र मापदण्डविपरीत सञ्चालन हुने सवारी साधनलाई कारबाही गर्न सडक विभागले सवारी भार मापन यन्त्र जडानको तयारी अगाडि बढाएको हो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले सडकलाई व्यवस्थित बनाउन र मापदण्डविपरीत ओभरलोड बोक्ने सवारी साधनलाई कानुनी दायरामा ल्याउन सवारी भार मापन यन्त्र जडान गर्ने गृहकार्य अगाडि बढाइएको बताउनुभयो ।


–सानाठूला गरी दैनिक ३ हजार सवारी साधन गुड्छन्
–सडकको संरचना भत्किनुको मुख्य कारण ट्रिपर
–राजमार्ग जोगाउन भार मापन यन्त्र


उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आधुनिक प्रविधिसहितको दुईवटा यन्त्र सिन्धुली र काभ्रेको धुलिखेलमा राख्ने योजना बनाएका छौं ।’ महर्जनले आवश्यकता अनुसार जुनसुकै स्थानमा पनि यन्त्र लगेर भार मापन गर्न सकिने बताउनुभयो ।

‘ओभरलोडको कारण सडक सतह दिनप्रतिदिन बिग्रिँदै गएको छ, सडक मर्मत गरे पनि केही समयपछि नै भत्किने गरेको छ’ –उहाँले भन्नुभयो । ओभरलोड बोक्ने सवारी साधनलाई कारबाही गर्न यन्त्र जडान गर्न लागिएको बताउँदै महर्जनले भन्नुभयो– ‘भार क्षमताभन्दा बढी बोक्ने सवारी साधनलाई कानुनी दायरामा ल्याउँछांै ।’ यन्त्र जडानका लागि परामर्शदातासँग छलफल भइरहेको उहाँको भनाइ थियो ।

बीपी राजमार्गमा बेलाबखत ओभरलोड बोक्ने सवारी साधनलाई प्रहरीले कारवाही गर्ने गरे पनि नियमित रुपमा अनुगमन हुन हुन सकेको छैन् । सडक विभागले पटक–पटक सवारीको अनुगन गरे पनि व्यवसायीले मापदण्डको बेवास्ता गर्दै ओभरलोड गाडी सञ्चालन गरिरहेका छन् ।

भारमापन यन्त्र नहुँदा निर्वाध रुपमा ओभरलोडका सवारी साधन सञ्चालन भएको भन्दै सरकारले सडकमा यन्त्र जडान गर्न लागेको हो । आधुनिक प्रविधियुक्त मेसिनले गाडीको पछाडिपट्टिको दुवै चक्का गुडेपछि सवारीको तौल दिन्छ । सवारी साधनको तौल, सवारीको नम्बर र समय मापन यन्त्रमा जडान गरिएको हुन्छ, यन्त्रको निर्माण गरिरहेको यार्सा टेक्नोलोजी प्रालिका सञ्चालक रामचन्द्र खड्काले केही समयपछि नै परीक्षण गरेर आवश्यकता अनुसार सञ्चालनमा ल्याउन सकिने बताउनुहुन्छ ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सेन्सरसहितको मेसिन सडकमा जडान गरेपछि गाडी गुडिरहेको अवस्थामा पनि भार मापन गर्न सकिन्छ ।’ आवश्यकताअनुसार भार मापन गर्ने यन्त्र निकाल्न र हाल्न मिल्छ । सञ्चालक खड्काले एउटा भार मापन यन्त्रको मूल्य करिब २० लाख रुपियाँ पर्ने बताउनुभयो ।

यन्त्रमा सेन्सर, कम्प्युटर, सिसी क्यामेरासहितको सफ्टवयर जडान गरिएको हुन्छ, सामान्य तालिम लिने व्यक्तिले नै यो सञ्चालन गर्न सक्ने खड्काले बताउनुभयो । यस्तो सवारी यन्त्र दश वर्षसम्म सञ्चालन गर्न मिल्ने गरी निर्माण भइरहेको बताउँदै उहाँले यन्त्रमा जडान हुने उपकरण आधा विदेशबाट आयात गरिने र आधा नेपालमा नै पाइने बताउनुभयो ।

भार क्षमता मापन गर्ने यन्त्र अस्थायी र स्थायी दुवै प्रकारको सडकमा जडान गर्न सकिन्छ । यन्त्रले ३० टनसम्मको भार मापन गर्न सक्छ । सरकारले बीपी राजमार्गमा धेरै भार भएका सवारी साधन सञ्चालन गर्न नमिल्ने बताउँदै आएको छ भने बीपी राजमार्ग हुँदै विभिन्न जिल्लामा आवतजावत गर्ने सवारी व्यवसायीहरुले भने निर्वाध रुपमा सवारी सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै आएका छन् ।

सर्वोच्च अदाताले १० टनभन्दा बढी क्षमताको सवारी साधनलाई सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि ठूला सवारी साधन सञ्चालन हुन पाउनुपर्ने माग राख्दै रामेछापका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

सरकारले केही समय अघि बीपी राजमार्गमा १८ सिटसम्मका सार्वजनिक बस मात्रै चलाउन पाउने निर्णय उल्ट्याएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघिको निर्णयलाई उल्ट्याउँदै बीपी राजमार्गमा ठूला गाडी चल्न दिने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशले उक्त निर्णय कार्यान्वयमा आउन सकेको छैन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवसायीले बीपी राजमार्गमा ठूला गाडी चलाउन पाउने मागलाई पूरा गर्दै ३२ सिट क्षमता भएका ठूला गाडीका लागि रुट इजाजत दिने निर्णय गर्नुभएको थियो ।

महोत्तरी, धनुषा, सिन्धुली, रामेछाप र काभ्रे जिल्लालाई जोड्ने बीपी राजमार्ग जापान सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको थियो । जटिल भौगोलिक संरचनामा निर्माण गरिएको बीपी राजमार्गलाई चार खण्डमा बिभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको थियो ।

जसअन्तर्गत पहिलो खण्ड बर्दिबास–सिन्धुलीमाढी ३७ किलोमिटर, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३६.५ किमि, तेस्रो खण्ड खुर्कोट–नेपालथोक ३६.५ किमि र चौथो खण्ड नेपालथोक–धुलीखेल ५० किमि सडक गरी बीपी राजमार्गको दूरी १ सय ६० किलोमिटर रहेको छ ।
जटिल भौगोलिक संरचना तथा सडकको चौडाइ ४ मिटर मात्र भएकाले राजमार्गमा साना सवारी र १० टन क्षमता भएका सवारीलाई मात्र रुट इजाजत दिने गरिएको थियो ।

सडकको हालको संरचनालाई जोगाउन हाल सडक मर्मत र स्तरोन्नतिको काम हुँदै आएको छ । ओभरलोडको सवारी साधन सञ्चालन हुँदा बीपी राजमार्ग मर्मत गर्न मात्र वार्षिक १ करोडभन्दा बढी खर्च हुँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार हाल बीपी राजमार्गमा साना ठूला गरी दैनिक ३ हजार सवारी साधन आवतजावगत गर्ने गरेका छन् । बीपी राजमार्गको संरचना बिग्रिनुको मुख्य कारण ओभरलोड ट्रिपर नै भएको सडक विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्