श्री एयरलाइन्सले थप्यो विमान



नेपाल समाचारपत्र, काठमाडौं ।

निजी क्षेत्रको आन्तरिक वायु सेवा कम्पनी श्री एयरलाइन्सले नयाँ विमान थपेको छ । कम्पनीले ७० सिट क्षमताको ९ एन–एएमओ कलसाईन भएको ‘बम्बार्डियर सिआरजे ७००’ विमान सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। अहिले सो विमान व्यवसायीय उडानका लागि नेपाल उड्डयन प्राधिकरणबाट अनुमति लिन प्रक्रिया थालेको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले जानकारी दिनुभयो।

श्रीले सन् २०१७ अगस्टदेखि तीन वटा जहाजबाट देशका पाँच स्थानमा आन्तरिक उडान गर्दै आएको छ। जहाज थप भएसँगै श्रीसँग सीआरजे २०० मोडेलका ५० सिट क्षमताको दुई र सीआरजे ७०० मोडेलको ७० सिट क्षमताको दुईवटा विमान भएका छन्।

श्रीले हाल भैरवहा, नेपालगन्ज, धनगढी, भद्रपुर, विराटनगर उडान गर्ने गरेको छ। कम्पनीले पछिल्लो समय राजबिरजलाई आफ्नो नयाँ गन्तव्यका रुपमा अगाडि बढाएको छ। असार १० गतेबाट श्रीले राजबिराज हप्तामा ५ उडान गर्ने तयारी गरेको मानन्धरले जानकारी दिनुभयो।

नेपालगन्ज, धनगढीमा ७०० मोडेलका जहाजबाट उडान गर्ने श्रीले अन्यमा २०० मोडेलका जहाज प्रयोग गरिरहेको छ। यो कम्पनीका सबै जहाजमा जेट इन्जिन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्