आमा र नवजात शिशुको मृत्यु



हिक्मत नेपाली, दैलेख ।
जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिकाको¬ पिपलकोटमा बच्चा जन्माउन नसकेको कारण आमा र नवजात शिशुको मृत्यु छ । सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजादै गर्दा सुँगुरखाल भन्ने ठाउँमा पुगेको बेला मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन् । मृत्यु हुनेमा आठबीस नगरपालिका–५ पिपलकोट तोलीचाखाकी १५ वर्षीया कृष्णा कसेरा र उनको नवजात छोरा रहेको पिपलकोट स्वास्थ्य चौकीका प्रमुख अहेव रामबीर यादवले जानकारी बताएका छन् ।

स्वास्थ्य चौकी नपुग्दै मृत्यु भएको भन्ने जानकारी पाएपछि अवस्था जान्न त्यहाँ पुग्दा ‘आमा र नवजात शिशुको मृत्यु भइसकेको थियो’ पिपलकोट स्थास्थ्य चौकीका अनमी दुर्गाकुमारी शर्माले भनिन् ।

‘नियमित स्वास्थ्य चेकअपमा आउँदा आमाको उचाईं र तौल एकदमै कम भएको कारण जोखिम हुने भएकोले सुर्खेत लैजान भनेकै थियौं, तर व्यथा लागिसकेपछि पनि घरमै सुत्केरी गराउन प्रयत्न गरेको र धेरै ढिला मात्र स्वास्थ्य चौकी ल्याउन लाग्दा मृत्यु भएको रहेछ’ अनमी शर्माले भनिन् ।

आमा र शिशुको मृत्यु हुनुमा पहिलो कारण बालविवाह र दोश्रो परिवार नियोजनका साधन प्रयोग गर्न समेत वेवास्ताले सानै उमेरमा गर्भवती भएकै कारण कृष्णाको मृत्यु भएको स्थानीय सामाजिक कार्यकर्ता डिलसरा पुलामीको भनाई छ । कृष्णाका १७ वर्षीय श्रीमान् प्रकाश कसेरा भारतमा मजदूरी गर्दै आएका छन् ।

पिपलकोट तोलीचाखामै माइती भएकी कृष्णा र प्रकाश कसेराबीच डेढ वर्ष अघि भागी विवाहलाई समुदायले रोक्न खोज्दा परिवारजनले सहमत जनाएका थिए । दलित र जनजातिको बाहुल्यता रहेको दैलेखको विकट गाउँ पिपलकोट बालविवाह समस्या भएको गाउँ हो ।

प्रतिक्रिया दिनुहोस्