तिलोत्तमामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबारबाट सुरु भएको तेस्रो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बासुदेव घिमिरेले ‘सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधार ः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ समग्र शिक्षा प्रणालीको सुधारका लागि स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र लगनशीलता साथ अगाडि बढिने जानकारी गराउनुभयो ।

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिसकेको तिलोत्तमाले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन शैक्षिक र भौतिक पक्षको सुधारका साथै विद्यार्थीको आवत–जावतका लागि सवारीसाधन सञ्चालनमा सहयोग उपलब्ध गराउनेसम्मका कार्यक्रम अघि सारेको छ । आगामी ३ वर्ष भित्र सामुदायिक र संस्थागत विद्यालय बीचको दुरी समान गर्ने, “फल्स सिलिङ्ग” राखेर विद्यार्र्थीलाई टिनको प्रत्यक्ष छानामुनी बस्नुपर्ने बाध्यताको अन्त्य गरिने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘स्वस्थ नगरबासी ः स्वस्थ नगर’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यमा नगरपालिका क्रियाशील रहने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले निकट भविष्यमा कार्यान्वय हुने स्वास्थ्य बीमा कार्यक्रमअन्र्तगत् वडा नंं १७ का नागरिकलाई स्वास्थ्य बीमामा लाग्ने रकमको ३० प्रतिशत रकम अनुदान दिने गरी बजेट व्यवस्था मिलाइने जानकारी गराउनुभयो ।

यस्तै नीति तथा कार्यक्रममा वडा नंं ७ मा रहेको सेमरा बजार स्वास्थ्य चौकीलाई स्तरोउन्नती गरी २५ शैयाको अस्पतालको रुपमा विकास गरिने, वडा नंं १७ मा रहेको “बीपी ग्राम” लाई आवश्यक भौतिक पूर्वाधार सहित स्वास्थ्य केन्द्रको रुपमा संचालनमा ल्याइने जनाइएको छ ।
‘एक घर, एक करेसाबारी: पकेट क्षेत्रमा व्यवसायिक तरकारी’ भन्ने नाराका साथ वडा नं. १४ लाई “तरकारी पकेट क्षेत्र” र अन्य वडाहरुमा “एक घर: एक करेसाबारी” को नीति अवलम्बन गर्दै आगामी एक वर्षभित्र तरकारीमा आत्मनिर्भर हुने नगरपालिकाको लक्ष्य छ । कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सार्दै नगरपालिकाले ‘व्यवसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मान ः सबै किसानलाई उत्पादनमा आधारित अनुदान’ नीति अवलम्वन गरिने जनाएको छ ।

पशु बीमा अनुदान र बाली तथा पशु संरक्षण कोषलाई थप व्यवस्थित गरिने जनाउँदै नगर प्रमुख घिमिरेले सहकारी खेती प्रणाली, सहकारी संघ संस्थासँगको सहकार्यमा थ्रीपी मोडलमा उत्पादनमूलक उद्योग व्यवसाय संचालन, भैलुभुजलगायत सिंचाई प्रणाली र बोरिङ्गहरुलाई पूर्वअवस्थामा संचालनमा ल्याउन प्रोत्साहन गर्दै सिंचाईमा लाग्ने विद्युत् महसुलमा १० प्रतिशत अनुदान दिने व्यवस्था मिलाउने नीति नगरपालिकाले लिएको उल्लेख गर्नुभयो ।

कम्तीमा ५० जना नेपाली नागरिकलाई रोजगारी दिने उत्पादनमूलक उद्योगको नाममा रहेको जमिनमा लाग्ने एकीकृत सम्पत्ति करमा १५ प्रतिशत छुट दिने नीति नगरपालिकाले अवलम्वन गरेको छ । वडा नंं. २ र १५ वडा कार्यालयलाई“तालिम केन्द्र” को रुपमा विकास गर्दै आगामी आर्थिक वर्षमा सीपयुक्त र स्वरोजगारमूलक बनाउनेगरी न्यूनतम ५०० जना युवा/युवातीलाई तालिम प्रदान गरिने, वडा नं. १० मा “तिलोत्तमा उद्योग ग्राम” स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने नगरपालिकाको नीति छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत् जोगिकुटी र कोटिहवामा बुद्धमूर्ति सहितको आकर्षक “प्रवेशद्वार” निर्माण गर्ने, खरको छाना भएका घर परिवारलाई जस्तापाताको छानामुनी ल्याउन कार्यविधि बनाएर जस्तापातामा लाग्ने रकमको ३० प्रतिशत अनुदान दिइने नीति तिलोत्तमा नगरपालिकाको छ । भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई सुरक्षित बसोबासको लागि सामूहिक आवास निर्माणको सम्भाव्यता अध्ययन गरिने जनाउँदै नगरपालिकाले नीति तथा कार्यक्रममार्फत् आगामी आर्थिक वर्षमा नयाँ पक्की सडकको तुलनामा पुराना जीर्ण सडकको मर्मत सुधारलाई विशेष महत्व दिइने जनाएको छ ।
वडा नं. ११ को वडा भवनलाई जलाशयको बीचमा निर्माण गरी नमूना वडा कार्यालयकारुपमा स्थापित गरिने, “तिलोत्तमा संचार ग्राम” स्थापनाको लागि आवश्यक गृहकार्य गरिने, दमकल खरिद गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

स्वयंसेवक परिचालन रणनीति तय गरिने, बढीमा दुई छोरी मात्र जन्माई बन्ध्याकरण गर्ने दम्पत्तिलाई पुरस्कार तथा सम्मान गरिने, एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ती करमा १५ प्रतिशत छुट उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नगरको पुनर्नापीको कार्यक्रमलाई म्याचिङ्ग फण्डको रुपमा रकम विनियोजन गरी पुनर्नापी कार्यक्रम संचालन गरिने, ‘एक घर: एक बैंक/सहकारी खाता, एक महिला: एक बैक/सहकारी खाता अभियान’ सञ्चालन गरी सरकारको आर्थिक:सामाजिक सहयोग सबै परिवारमा सिधै पुग्ने वातावरण मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

साउन १ गते देखि “एकीकृत सम्पत्ती कर” लागू गरी संकलित राजस्वको २५ प्रतिशत रकम सम्बन्धित वडाको विकासका लागि नै व्यवस्थापन गरिने, सबैभन्दा धेरै कर दाखिला गर्ने करदातालाई “उत्कृष्ट करदाता”को रुपमा पुरस्कृत गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्