एकल नृत्यमा स्वजनका भिन्न रूप



पहिलोपटक एकल नृत्य प्रस्तुतिका साथ जमलस्थित राष्ट्रिय नाचघरमा वजन रघुवंशी एकल साँझ सम्पन्न भएको छ। कार्यक्रमा लाइभ वाद्यवादन र गायनसँगै ७ विभिन्न फर्मका नृत्य प्रस्तुत गरिएको थियो।

लोक नृत्यको साथै कथक र भरतनाट्यम्को नमस्कार तथा कार्तिक नाचको द्यः ल्हायेगुबाट कलाकार रघुवंशीले गुरु, मातापिता, इष्टदेव, नाटेश्वर, वाद्यवादक, जल, वायु, पृथ्वी, अग्नि, आकाश, दर्शक, कर्मभूमि सम्पूर्णलाई वन्दना गरे। त्यसपछि हरेक कार्तिकमा मात्र र मंगलबजारस्थित कार्तिक डबलीमा मात्र प्रदर्शन हुँदै आएको कार्तिक नाच पनि पहिलोपटक मञ्चमा प्रस्तुत गरियो। करिब ४ सय वर्ष पुरानो कार्तिक नाचअन्तर्गतको उषाहरण लीलाको कुमार नृत्य प्रस्तुतिमा दर्शक निकै रमाएका थिए। ‘विश्वको सबैभन्दा प्राचीन वियोगान्त नृत्यका रूपमा गिनिज बुकमा ग्रिकको ट्र्याजिक डान्स फर्मलाई लिइएको छ। तर, त्यो नाच लोप भइसकेको छ। कार्तिक नाच पनि ट्र्याजिक फर्ममै पर्छ र यो नाच अहिलेसम्म निरन्तर चलिरहेको छ। यो हाम्रो गौरव हो।’ –वाङमय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले भने।

चर्या नृत्यअन्तर्गतको पञ्चकपाल नृत्य पनि पहिलोपटक मञ्चमा प्रस्तुत गरिएको थियो। मादलको तालमा झ्याउरे नृत्यको प्रस्तुतिमा रघुवंशीले दर्शकको जोडदार तालीको साथमा वान्स मोर पनि पाए। स्वजनले कार्यक्रममा भरतनाट्यम् नृत्य त प्रस्तुत गरे नै, पाश्चात्य नृत्य साल्सा डान्समा समेत दर्शकलाई मुग्ध बनाए। साल्सामा स्वजनलाई कलाकार कृपा वज्राचार्यले साथ दिएका थिए।

कृष्णले कालिया नागको दमन गर्ने कथा समेटिएको कत्थक नृत्यमा त स्वजन लगातार १८ मिनेट नाचे। अन्तिममा संसारभरिका सबै आमालाई श्रद्धा र आदर प्रकट गर्दै स्वजनले आमा नृत्य प्रस्तुत गरी कार्यक्रम टुंग्याए। आमा नृत्य सम्पन्न हुँदा कलाकार स्वजन रघुवंशीकै माता कृष्णशोभा रघुवंशीको मञ्चमा आगमनपछि माहोल भावुक बनेको थियो।
नृत्यमा एकल साँझ अपूर्व रहेको नृत्य निर्देशक हनी श्रेष्ठले प्रतिक्रिया दिइन्। कार्यक्रम नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखा र सांस्कृतिक संस्थानले संयुक्तरूपमा आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्