दिल्लीमा वसन्तको चाहत सार्वजनिक



ख्यातिप्राप्त गीतकार, कवि एवं साहित्यकार वसन्त चौधरीको पछिल्लो कविता संग्रह चाहतो के साये मे र सिडी एल्बम भारतको नयाँ दिल्लीमा विमोचन गरिएको छ। गत शुक्रबार बलिउडका वरिष्ठ गीतकार समीर ‘अञ्जान’ ले उक्त कविता संग्रहको विमोचन गरेका हुन्।

गीतकार समीर बलिउडका त्यस्ता, गीतकार हुन् जसको नाम संसारकै सबैभन्दा धेरै संख्यामा गीत लेखेबापत सन् २०१६ को गिनिज वल्र्ड रेकर्डमा उल्लेख गरिएको छ। नयाँ दिल्लीस्थित होटल हयात रिजेन्सीको सभाहलमा उपस्थित भारतीय साहित्यकारहरूले गीतकार चौधरीको नयाँ पुस्तकको खुलेर प्रशंसा गरे।

कार्यक्रमका प्रमुख अतिथि गीतकार समीरले कवि चौधरीको पुस्तक सरल र स्रोतामुखी रहेको र मनलाई छुने काव्य कृति रचना गरेको चर्चा गर्दै चोधरीको खुलेर प्रशंसा गरे। ‘अझै पनि साहित्यको दुनियाँमा फिल्मका गीतकारलाई स्वीकार नगरिनु दुःखलाग्दो विषय हो। गुलजार साहेब (भारतका लोकप्रिय गीतकार, कवि एवं फिल्म निर्देशक) ले मलाई आफ्नो गीतहरूको संग्रह प्रकाशन गर्न सुझाव दिँदै आउनुभएको छ। म पनि त्यसबारेमा सोचिरहेको छु।’ –उनले खुलाए।

विशिष्ट अतिथि भारतको उत्तराखण्ड राज्यका पूर्वमुख्यमन्त्री तथा कवि रामेश पोखरियाल ‘निसक’ ले चौधरीको पुस्तक नेपाल–भारत सम्बन्ध बलियो बनाउने दिशामा एक महत्वपूर्ण कदम भएको चर्चा गरे। भारतका वरिष्ठ कवि, साहित्य समीक्षक एवं समालोचक बालस्वरूप राही तथा दिल्ली विश्व विद्यालयअन्तर्गतको हंसराज कलेजका प्राचार्य डा. रमाले चाहतो के साये मेमाथि विद्वत टिप्पणी गरे। पुस्तकका लेखक चौधरीले चाहत (इच्छा) शब्दको विभिन्न आयाम बारे प्रकाश पार्दै इच्छा जीवन प्रगतिको मुख्य उत्प्रेरक भएको बताए।

‘मेरा काव्य कृतिलाई धेरैजसो प्रेम र इच्छाले डोर्याउँदै आए पनि इच्छा वा चाहत स्त्री र पुरुषबीचको प्रेममा मात्र सीमित नभएर त्योभन्दा पनि पर छ’, कार्यक्रममा चौधरीले भने– ‘यसले समानरूपमा कुनै पनि व्यक्तिको नयाँ उचाइमा पुग्ने र नयाँ लक्ष्य प्राप्त गर्ने आकांक्षालाई समेत व्यक्त गर्दछ। यसर्थ इच्छा भनेको मानिसको समग्र जीवन प्रगतिको मुख्य उत्प्रेरक तत्व हो।’

चौधरीको पछिल्लो एक वर्षका दौरानमा सार्वजनिक भएको यो दोस्रो पुस्तक हो।

चाहतो के साये मेलाई ख्यातिप्राप्त बेनेट कोलम्यान एन्ड कम्पनी लिमिटेडअन्तर्गतको टाइम्स ग्रुप बुक्सले प्रकाशन गरेको हो। २ सय ४२ पृष्ठको पुस्तकमा चौधरीले मिठासपूर्ण सरल हिन्दी र उर्दु मिश्रित भाषामा लेखेका कविता, गीत, गजल तथा नज्माहरूलाई समेटेका छन्। पुस्तकको साथमा चौधरीद्वारा रचित विभिन्न ७ गीत समेटिएको सीडी पनि सार्वजनिक गरिएको थियो। ती गीत बलिउडका चर्चित गायक/गायिका सोनु निगम, श्रेया घोषाल, रूपकुमार राठोड र मोहित चौहानले गाएका छन्। कार्यक्रममा केही गीतको म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा कवि चौधरी तथा कार्यक्रमका वक्ताहरूले कविताहरूको भाव दुरुस्त प्रतिबिम्बित हुने गरी सफलतापूर्वक चाहतो के साये मेलाई अंग्रेजीमा अनुवाद गरेको भन्दै जार्काताका सुन्जोय शेखरको खुलेर प्रशंसा गरे। चाहतो के साये मेलाई आगामी असार ११ गते भारतको मुम्बईमा समेत विमोचन गरिने टाइम्स ग्रुप बुक्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्