इंग्ल्यान्डको जितमा केन नायक



मस्को, (एजेन्सी)
इंग्ल्यान्डले ट्युनिसियामाथि कठिन जित निकाल्दा दुई गोल गर्दै कप्तान ह्यारी केन नायक बनेका छन्।

सोमबार राति भएको खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २–१ गोल अन्तरले हराउँदा दुवै गोल कप्तान ह्यारी केनले गरेका थिए। ट्युनिसियाका लागि फेरजनी सासीले एक गोल गरे।
केनले खेलको ११औं मिनेटमा पहिलो गोल गरेका थिए। ट्युनीसियाका गोलरक्षकले छेकेको बल रिबाउन्ड हुँदा केनले पुन प्रहार गर्दै गोलमा परिणत गरेका थिए। तर, ३५औं मिनेटमा ट्युनिसियाले पेनाल्टी पायो। पेनाल्टीको अवसरलाई ट्युनीसियाका सासीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि निकै प्रतिस्पर्धात्मक भएको खेलमा जितका लागि इन्जुरी समय नै पर्खनुपर्यो।

बराबरीतिर अग्रसर खेलको इन्जुरी समयमा केनले हेडमार्फत् व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्यान्डको जित सम्भव भयो। योसँगै समूह ‘जी’ मा रहेको इंग्ल्यान्डले तीन अंक जोडेको छ। सोमबार राति भएको यही समूहको अर्को खेलमा बेल्जियमले पनामालाई ३–० गोलले हराउँदै तीन अंक जोडेको थियो। गोल अन्तरका आधारमा बेल्जियम समूहको शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्