विश्वकप कति पटक चोरी भयो?



हरेक ४ वर्षको एकपटक अरबौं अरब मानिसले हेर्ने विश्वकप ट्रफीको पनि आफ्नै रोचक इतिहास छ। १९२८ मा अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) को अनुरोधमा विश्व विजेता फुटबल टिमलाई प्रदान गरिने यो ट्रफी फ्रान्सका शिल्पकार एबल लेफलेयरले बनाएका हुन्। देवीले षट्कोण उठाएको यस ट्रफी १.८ किलोग्राम सुनले बनेको थियो।

विश्वमै अत्यन्त प्रतिष्ठित मानिने यो ट्रफी जित्ने पहिलो शौभाग्य सन् १९३० मा उरुग्वेलाई प्राप्त भएको थियो। त्यसपछि सन् १९३४ र १९३८ गरी ८ वर्षसम्म यो ट्रफी इटलीको हातमा रह्यो।

दोस्रो विश्वयुद्धमा जर्मनीले इटलीमाथि विजय हासिल गरेपछि जर्मनी नाजीहरूको हातबाट बचाउन त्यसबेला ‘फिफा’ का इटालियन उपाध्यक्ष ओटोरिनो बेरस्सीले यस ट्रफीलाई बट्टामा लुकाएर राखेका थिए। सन् १९४६ मा ‘फिफा’ का पहिलो अध्यक्ष ‘जुल्स रिमेट’ को नामबाट यस ट्रफीको नामाकरण गरियो।

बेलायतले १९६६ मा आफ्नै देशमा भएको विश्वकपमा जुल्स रिमेट कप जितेको थियो। कप जितेको खुसीयालीमा वेस्ट मिनिस्टर हलमा यसको प्रदर्शन गरियो। तर पहिलो सार्वजनिक प्रदर्शन स्थलबाटै अचम्मसँग गायब भयो। बेलायतभरि सनसनी र हंगामा मच्चियो। प्रहरीले बेलायतको कुना–काप्चा छापा मार्यो। तर केही सीप लागेन। ट्रफी चोरी भएको ठीक १ हप्तापछि थेम्स बाँधका डेविड कोर्बेट नामक एक कर्मचारीलाई आश्चर्यजनक ढंगले हराएको यो ट्रफी भेट्टाउने श्रेय प्राप्त भयो।

२६ वर्षीय डेविड त्यसदिन लन्डनस्थित आफ्नो घरबाट कुनै आफन्तलाई टेलिफोन गर्न निक्लेका थिए। उनी सँगसँगै उनका ‘पिकल्स’ नामको पाल्तु कुकुर पनि उनीसँगै निस्केको थियो। कुकुरले घरबाट निस्कनेबित्तिकै घरकै नजिकै झाँङबाट उठाएर अखबारले बेरिएको एउटा पोको मुखले च्यापेर मालिकको अगाडि झारिदियो।

मालिक डेविडले पोको खोलेर हेरेपछि हेरेको हेर्यै भए। किनभने त्यस पोकोभित्र बेलायतका प्रहरीले १ हप्तासम्म बेलायतभरि खोजेर पनि पाउन नसकिएको विश्वकप बेरिएको थियो। उनले तत्कालै प्रहरीलाई खबर गरेपछि सरकारले उनलाई ३ हजार पाउन्ड पुरस्कारस्वरूप उपलब्ध गराएको थियो। त्यसपछि डेविड कोर्बेट र उनको कुकुरको नामले कैयौं दिनसम्म विश्वका अखबारमा स्थान पाइरह्यो।

१९७३ मा कुकुर मरे पनि उनको नाम पाको उमेरका बेलायतीलाई अहिलेसम्म पनि कण्ठै छ। कुकुरका ५४ वर्षीय मालिक कोर्बेटचाहिँ ४ वर्ष अघिसम्म डाक विभागमा कार्यरत थिए र अहिलेसम्म जिउँदै छन्।

ब्राजिलले १९५८, १९६२ र १९७० मा ३ पटक विश्वकप जितेपछि जूल्स रिमेट कप सधैंका लागि ब्राजिलमै रहने भयो। त्यसपछि फिफाले फेरि अर्को ट्रफी बनाउन बाध्य हुनुपर्यो। इटलीका शिल्पकार सिल्लिओ गेजेनिकाले यसको बनावट तयार गरे। यसलाई बनाउन ५३ जना शिल्पकारको आवेदन परेको थियो। पछि बनेको यस ट्रफीमा ‘फिफा विश्वकप’ अंकित गरिएको छ।
३६ सेमि लामो यस ट्रफीमा ४.९७ किलोग्राम सुन खपत भएको छ। यसमा २ जना धावकको जोडिएको पिठ्युँमाथि पृथ्वी (ग्लोब) देखाइएको छ। पछिल्लो ट्रफीलाई २ लाख ३० हजार डलर खर्च गरेर बीमा गराइएको थियो।

१९८३ मा यो ट्रफी ब्राजिल फुटबल संघको मुख्य कार्यालय रियो डे जेनेरियोमा अत्यन्तै कडा सुरक्षाका साथ राखिएको थियो। तर यसै सालको १९ डिसेम्बरमा केही बदमास आएर चौकीदारलाई बाँधी ट्रफी चोरेर कुलेलम ठोके। त्यो चोरिएको ट्रफी आजसम्म भेट्टाउन सकिएको छैन। चोरले सुनको लोभले गर्दा त्यसलाई पगालेर मासिसकेको अनुमान गरिएको छ।

दोस्रो ट्रफी पनि चोरी भएपछि फिफाले फेरि हुबहु त्यस्तै ट्रफी बनाएको छ। पछिल्लो ट्रफीको डिजाइन पश्चिम जर्मनीका बाबु छोरा शिल्पकार मिलेर बनाएका हुन्। शिल्पकार गेट र उनको छोराले संयुक्तरूपमा बनाएको यस ट्रफीमा १.८ किलोग्राम सुन खर्च गरेका छन्। यस ट्रफीको लागत जम्मा ३४ हजार ८०० डलर मात्र परेको छ। पटक–पटक चोरी हुने डरले गर्दा अहिले फिफा विश्वकपलाई बैंकको सुरक्षित सेफमा राखेर विजयी टिमलाई सुनजडित प्रतिरूप मात्र टक्र्याउने गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्